Logo

सहकारी ठगी प्रकरणमा पक्राउ रवि लामिछानेको बयान लिन सुरु

काठमाडौं– पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिन थालिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेसँग अनुसन्धान अधिकृत र सरकारी वकिलले बयान लिन थालेका हुन् ।

सहकारी रकम अपचलन प्रकरणमा लामिछाने कार्तिक २ राती पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ परेका हुन् । पक्राउ परेको रातिनै उनलाई पोखरा लगिएको थियो । पक्राउ परेको भोलीपल्ट शनिबार परेपछि लामिछानेविरुद्ध आइतबार अदालतमा म्याद थपका लागि पेश गरिएको थियो ।

कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका छन् ।

लामिछानेबिरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राईसँग मिलेर लामिछाने सो सहकारीको रकम अपचलन गरेको आरोप छ । जीवी राई, पूर्व डीआईजी छविलाल जोशी र लामिछाने मिलेर गोर्खा मिडिया नेटवर्कमार्फत टेलिभिजन सञ्चालन गरेका थिए ।

गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख रकम अवैध तरिकाले आएको सहकारी ठगीको छानबिन गर्न गठन भएको संसदीय छानबिन समितिको निष्कर्ष छ ।

लामिछाने गोर्खा मिडियाका प्रबन्ध निर्देशक भएको बेला मिडियामा खर्च गरेको समितिले उल्लेख गरेको छ । लामिछाने पक्राउ परेको प्रकरणमा उनकै साझेदार पूर्व डीआईजी छविलाल जोशी असोज ६ मा पक्राउ परेका थिए । जोशी पनि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्