Logo

सगरमाथामा फेला परेको मानिसको खुट्टासहित बुटको बारेमा फिल्म बनाउँदै अस्कर विजेता फिल्ममेकर दम्पती

काठमाडौं– संसारकै सर्वोच्च शिखर सगरमाथा चढ्ने व्यक्ति हुन् एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा । सन् १९५३ मा सगरमाथा पहिलोपटक चढेका उनीहरुको नाम इतिहासमासगरमाथा सबैभन्दा पहिला आरोहण गर्ने व्यक्तिका रुपमा लेखिएको छ ।

तर उनीहरु सगरमाथा चढ्नुभन्दा २९ वर्ष अघि नै बेलायती नागरिक जर्ज म्यालोरी र एन्ड्रयू कोमिन ‘स्यान्डी’ ले सगरमाथा आरोहणको प्रयास गरेका थिए । १९२४ मा यी दुईजना आठ हजार किलोमिटरभन्दा माथी आरोहण गरिसकेको दृश्य उनीहरुका सहयात्रीले केहि तल क्यामबाट देखेका थिए । तर सगरमाथामा एक्कासी मौसम खराब भयो र उनीहरु देखिन छाडे ।

जर्ज र एन्ड्र्यु सगरमाथाको चुचुरो पुगेर फर्किएलान् भन्ने आशा बोकेर सहायक आरोही र साथीहरू क्याम्पमा पर्खिरहेका थिए। तर उनीहरू फर्किएनन्। उनीहरु नफकिएपछि दुवैजनालाई मृत घोषणा गरिएको थियो ।

त्यसपछि नौ वर्षसम्म सगरमाथा आरोहणको अभियान नै रोकिएको थियो । उनीहरुको मृत्युपछि कतिपयले सगरमाथा चढेर फर्कने बेलामा ज्यान गुमाएको विश्वास गरेका छन् । तर उनीहरु वास्तवमा सगरमाथा चढेको हुन् या चढ्न सफल भएनन् भन्ने कुरा अझैपनि एक रहस्य रहेको छ ।

उक्त घटनाको ७५ वर्षपछि सगरमाथा आरोहणका क्रममा अमेरिकी पर्वत आरोही कोर्नाड एंकरले जर्ज म्यालोरीको शव फेला पारेका थिए । जर्जको शवको अवस्था हेरेर कतिपयले उनी सगरमाथाको चुचुरोमा पुगेर फर्किएको अड्कल काटेका थिए । किनभने बिहान हिमाल चढ्न हिडेका जर्जको सनग्लास गोजीमा भेटिएको थियो । जसकारण उनी साँझमा हिमाल चढेर फर्किको अवस्थामा मृत्यु भएको अनुमान गरेको थियो । यस्तै जर्जले सगरमाथाको चुचुरोमा फोटो छाड्ने श्रीमतिसँग बाचा गरेका थिए । तर उनको साथमा फोटो नभेटिएपछि उनी सगरमाथा चढेरै फर्किएको धेरैले अड्कल गरेका छन् ।

यता केही साताअघि वृत्तचित्र बनाउन सगरमाथा गएको नेसनल ज्योग्राफीको एउटा टोलीले एउटा बुट फेला पार्यो । बुटमा हिउँले कठ्यांग्रिएको मानव खुट्टा पनि थियो । बुटको मोजामा रातो अक्षरले ‘एसि इरभिन’ लेखिएको छ। उक्त बुट सय वर्ष अघि जर्जसँगै सगरमाथा चढ्न गएका एन्ड्रयु कोमिन ‘स्यान्डी’ इरभिनको हुनसक्ने अनुमान गरिएको छ । उनको बुट र खुट्टा अहिले चीनको सरकारी एजेन्सी ‘चाइना तिब्बत माउन्टेनरिङ एसोसियसन’ मा राखिएको छ ।

इरभिनको खुट्टाको डिएनए उनका परिवारजनसँग लिइएको छ। त्यसको नतिजा सार्वजनिक भइसकेको छैन। यस्तै जर्ज र इरभिनले सगरमाथा चढ्दा बोकेको क्यामरापनि फेला परेको छैन । उक्त क्यामेरा भेटिए त्यसले उनीहरुले सगरमाथा चुचुरोसम्म पुगेको वा नपुगेको रहस्य खुल्ने आशा राखिएको छ।

यसैबिच जर्ज र इरभिनको आरोहण यात्राबारे अस्कर अवार्ड विजेता महिला फिल्ममेकर एलिजाबेथ चाइ वासारहेली र उनका पति जिम्मी चीनले फिल्म बनाउने भएका छन् । इर्विनको बुट र काटिएको खुट्टा फेला परेपछि फिल्म निर्माण गर्न उत्साहित भएको उनीहरुले बताएका छन् ।

यसमा एउटा दृष्टिकोण पहिलो विश्वयुद्धको पुस्ताले भोगेको आघात र पीडाको दृष्टिकोणसमेत समावेश गरेर बनाइने फिल्मले सगरमाथामा भेटिएको बुटको रहस्यलाई पछ्याउने चाईले बताएकी छिन् ।

यसका लागि आफूले ‘इन टु द थिन एयर’का लेखक तथा प्रख्यात पर्वतारोही जोन क्राकाउरसँग छलफल गरिरहेको उनले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्