Logo

सहकारी ठगी प्रकरणमा छानबिन गर्न रविलाई पोखरापछि बुटवल लगिने

काठमाडौं– सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । उनी गत शुक्रबार पक्राउ परेका थिए । कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले पक्राउ परेको थियो । पक्राउ परेका लामिछानेलाई सोही राति कास्कीको पोखरा लगिएको थियो । उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान भइरहेको छ ।

गोर्खा मिडियाको प्रबन्ध निर्देशक (एमडी) रहँदा लामिछानेले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मीलगायतका सहकारीबाट रकम लिई अपचलन गरेको आरोप छ । कास्की प्रहरीले आजबाट उनको बयान सुरु गरेको छ । कास्कीमा बयान सकिएलगत्तै लामिछानेलाई बुटवल लगिने बताइएको छ । बुटवलबाट लामिछानेलाई काठमाडौं ल्याएर स्वर्णलक्ष्मीको बचतबारे बयान दिइने बताइएको छ ।

गोर्खा मिडियाका तत्कालीन शेयरहोल्डर छविलाल जोशी गत असोज ६ गते पक्राउ परेका थिए । कास्की प्रहरीले जोशीको बयान सकेर बुटवल लगिसकेको छ । त्यस्तै, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई भने फरार छन् ।

 

प्रतिक्रिया दिनुहोस्