काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की जिल्ला प्रहरीको कार्यालयमा हिरासतमा छन् । रविको पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् । यस्तै उनीहरुले आफ्नो प्रदर्शनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को साथ समेत खोजिरहेका छन् ।
यसैबिचमा काठमाडौं महानगरका भौतिक पुर्वाधार सल्लाहकार रहेका सुनिल लम्सालले महानगरको काममा रविको साथ नमिलेको कुरा स्मरण गरेका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै तीनकुने जग्गा पीडितको जग्गाको मुआब्जाको विषयदेखि बाल श्रम शोषणको विषयमा समेत साथ नमिलेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘त्यो दिन ५० वर्षदेखि राज्यले सुकुम्बासी बनाएको तीनकुने जग्गा पीडितको जग्गाको मुआब्जा दिने विषय थियो, रवि लामिछाने र मुकुल ढकालले केपी बा लाई नसोधी गर्नु मिल्दैन भने। अर्को दिन खोला अतिक्रमण गरी बसेका बाढी आउँदा बगेर जाने जनतालाई जोगाउने त्यहाँबाट हटाउने र अन्तै सार्ने विषय थियो, केपि बा लाई नसोधी हटाउन मिल्दैन भने।’
एयरपोर्टले विस्थापित जनतालाई उकास्ने विषयमा समेत मन्त्रिपरिषद्मा सल्लाह नगरी गर्न सकिँदैन भनेको उनले बताएका छन् । उनले थप लेखेका छन्, ‘गिरीबन्धु जग्गाको विषयमा बोल्दा नयाँ पुराना सबैको सहमतिमा कोही नबोल्ने कुरा भयो । १२ वर्षको बालिका घरमा दास बनाएर कुटिदा कोई बोलेनन्। आज कानुनी राज्यमा कानुन सम्मत अनुसन्धान हुँदा कोही गलत छ भने हावा खान जानु पर्छ।’
तर सहि काम गरिरहेको बेलामा सरकार र सरकारी निकायले हेप्ने पेल्ने काम भएमा बालेन एक्लै भएपनि लड्ने उनले बताएका छन् । उनले लेखेका छन्, ‘यदि त्यो मान्छे सही हुँदा पनि सरकार र सरकारी निकायले हेप्छ पेल्छ भने, ३ करोड नेपाली नआएपनि बालेन एक्लै उभिन्छन्, लड्छन्, र त्यो दिन बालेन एक्लै काफी हुनेछन्।’
प्रतिक्रिया