Logo

ओली सरकारको सय दिन पूराः आज प्रगति विवरण सार्वजनिक गर्ने

काठमाडौं– सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रगति सार्वजनिक गर्दैछन् ।

ओली सरकारका सबै मन्त्रीहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र भएका कामकारबाहीको प्रगति प्रधानमन्त्रीलाई बुझाइसकेको बताएका छन् । एमाले अध्यक्ष ओली गत असार १७ गते भएको नेपाली कांग्रेस र एमालेबिचको सात बुँदे समझदारीका आधारमा असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री नियुक्त भएका थिए ।

राजनीतिक स्थिरता र संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर कांग्रेस–एमालेको सत्ता गठबन्धन भएको थियो । सत्तामा लोसपा, अशोक राई नेतृत्वको जसपा, लोसपा र नाउपा सहभागी छन् ।

ओली सरकारले सर्वसाधारणको चासो र सरोकार रहेका सरकारी कार्यालयको सेवा प्रवाहमा कुनै सुधार गर्न सकेको छैन । सरकारले महँगी र भ्रष्टाचार नियन्त्रण तथा आर्थिक अवस्था चलायमान पार्ने ठोस योजना सार्वजनिक गर्न सकेको छैन । असोज १२ गतेको प्राकृतिक विपतमा सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको गुनासो त्यतिकै छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्