Logo

आन्दोलनका लागि पोखरा झर्न आह्वान गर्दै घरदैलोमै पुगे रास्वपाका नेता

पोखरा– आफ्नो सभापति सहकारी ठगी प्रकरणमा पक्राउ पछि यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरू पोखरामा प्रदर्शन गरिरहेका छन् । कास्की जिल्ला प्रहरीमा अनुसन्धानका लागि रविलाई हिरासतमा राखिएपछि उनीहरु यसको विरोधमा प्रदर्शनमा उत्रिएको हो ।

रास्वपाले विरोधमा सहभागिता जनाउन देशैभरीबाट कार्यकर्तालाई आउन आह्वान गरेको थियो । रास्वपाले प्रदर्शनमा दैनिक दशौँ हजार कार्यकर्ता उपस्थित हुने अपेक्षा राखेको थियो । तर पोखरामा कार्यकर्ताहरु सोचे अनुरुप जम्मा भएका छैनन् ।

रास्वपाका नेताहरुले प्रदेश कोणसभा र प्रदर्शनहरूमा देशका लागि जनतालाई सडकमा झर्न आह्वान गरेपनि उपस्थिति कम देखिएपछि उनीहरु घरदैलोमा पुग्न थालेका छन् ।

मंगलबार रास्वपाकी सांसद डाक्टर तोसिमा कार्की र केन्द्रिय सदस्य रमेश प्रसाईं जनतालाई आह्वानको लागि घरदैलो गर्न सराङकोट पुगेका थिए । उनीहरुले त्यहाँका नागरिक अगुवा र आफ्ना समर्थकहरूलाई आन्दोलनमा पोखरा झर्न आग्रह गरेका हुन् । यस्तै सांसद हरि ढकालले मंगलबार बिरौटा क्षेत्रमा घरदैलो गर्दै प्रदर्शनमा आउन आग्रह गरे ।

रास्वपाले मंगलबार १० वटा समूह बनाएर घरदैलोमा खटाएको थियो । रविलाई मात्र छुटाउन मात्र नभइ सहकारी पीडित सबैको समस्या समाधानको लागि जनतालाई आह्वान गर्न घरदैलो कार्यक्रम गरेको रास्वपाका प्रवक्ता मनिष झाले बताएका छन् । मंगलबार रास्वपाका नेताहरुको घरदैलोका कारण पोखरामा प्रदर्शनकारीको सङ्ख्या बढेको थियो । यो संख्या बुधबार थप बढ्ने रास्वपाले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्