Logo

नयाँ नेपाली फिल्म एमएसएम एपबाट घरमै बसेर हेर्न सकिने

काठमाडौं– अब कुनै चर्चित फिल्म हलमा हेर्न छुट्यो भनेर चिन्ता लिनुपर्ने दिन सकिएको छ । ओटिटी प्लेटफर्मबाटै नयाँ नेपाली फिल्म हेर्न सकिने सुविधा आएपछि हलमा फिल्म छुट्दैमा चिन्ता लिनुपर्ने दिन सकिएको हो । नेपाली फिल्मलाई किनेर विश्वभरका दर्शकका लागि अन्तर्राष्ट्रिय हलहरुमा नेपाली फिल्म पुर्याउँदै आएको एमएसएम इन्टरटेन्मेन्ट्सले अब इन्टरनेटमा घरमै बसेर नेपाली फिल्म विश्वभर हेर्नमिल्ने सुविधा ल्याएको हो ।

यसका लागि कम्पनीले एमएसएम भिडियो एप सञ्चालनमा ल्याएको छ । उक्त एपबाट नेपाली फिल्महरु डिजिटल प्लेटफर्मममा घरमै बसेर आफूले चाहेको समयमा हेर्न मिल्ने भएको हो । ओटीटी प्लेटफर्मको सुरुआत गर्न पाउँदा निकै उत्साहित बनेको एपका संचालक छत्र थापाले बताएका छन् ।

उनले भने, ‘म एकदमै खुशी छु हिजो कसरी गर्ने होला भनेर लागि परेको थिए आज नेपालमा छोटो समयमै धेरै डाउनलोड हुने एप एमएसएम भिडियो एप भएको छ । अब सबै नेपाली भाषीहरुले घरमै बसिबसी नयाँ नयाँ नेपाली फिल्महरुको मज्जा लिनुसक्नु हुन्छ ।’

एमएसएम भिडियो एपमा नयाँ फिल्म, वेब सिरिज, प्रिमियम शो पनि विस्तारै उपलब्ध हुने उनले बताएका छन् । नेपाली फिल्मलाई विश्वभरका दर्शकसम्म पुर्याएर डिजिटल माध्यममा बलियो उपस्थिति देखाउन अन्तराष्ट्रिय वितरणसँगै ओटीटीमा आबद्ध भएको थापाले जानकारी दिए ।

उक्त एप ‘एप स्टोर’ र ‘गुगल प्ले स्टोर’बाट डाउनलोड गर्न सकिन्छ । एपमा प्रत्येक महिना ३ देखि ४ वटा सम्म नेपाली सिनेमा हेर्न सकिने छ । एपमा मन परेको फिल्म डाउनलोड गरेर अफलाइन भएको समयमा पनि हेर्न सकिने सुविधा छ । हाल मोबाइलबाट यो प्लेटफर्मबाट नेपाली फिल्महरुको मज्जा लिन सकिन्छ । विस्तारै ल्यापटप, कम्प्युटर, टेलिभिजनबाट पनि हेर्नमिल्ने सुविधा ल्याउने कम्पनीले जानकारी दिएको छ ।

नेपाली ओटिटी प्लेटफर्म ‘एमएसएम’ भिडियो एपमा हाल तीन ब्लकबस्टर फिल्महरु उपलब्ध गराएको छ । ‘दिमाग खराब, माहाजात्रा र घरज्वाईँ’ फिल्म यो एप डाउनलोड गरेर हेर्न सकिन्छ ।

यस्तै राम्रोसँग प्रदर्शन भइरहेको बेलामा पनि हिन्दी फिल्मलाई शो दिइएको भनेर हलबाट उतारिएको फिल्म ‘बेहुली फ्रम मेघौली’ शुक्रबारलेखि एमएसएम भिडियो एपमा आउँदैछ । यो फिल्म अमेरिका, सिंगापुर, जापान र क्यानडाका हलहरुमा हाल प्रदर्शनमा रहेकाले ती देशहरुमा भने तत्कालै नआउने फिल्मका निर्माता तथा अभिनेता निश्चल बस्नेतले बताएका छन् । एमएसएम एपमा रिलिज भएका फिल्महरु युट्युब तथा अन्य प्लेटफर्ममा भने नआउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्