Logo

रविको पक्राउ विरोधमा पोखरा पुगेका कार्यकर्ताले घुमघामका फोटो पोस्ट गरे कारबाही हुने

काठमाडौं– पूर्वगृहमन्त्री तथा सभापति रवि लामिछाने पक्राउ विरोधमा पोखरा पुगेका कार्यकर्तालाई आन्दोलनबाहेक घुमघामका फोटो पोस्ट गरेमा कारबाही हुने भएको छ । आन्दोलनका लागि गएका कार्यकर्ताले घुमफिर गरेको फोटो सामाजिक सञ्जालमा नगराख्न भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सूचना नै पठाएको छ।

रास्वपाको अनुशासन विभागले कार्यकर्ताहरुलाई उक्त निर्देशन दिँदै कार्यकर्तालाई म्यासेज पढाएको हो । म्यासेजमा आन्दोलनको फोटो भिडियोमात्रै सामाजिक सञ्जालमा राख्न निर्देशन दिइएको छ भने आन्दोलनबाहेकको पोस्ट राखे कारबाही गरिने समेत बताइएको छ। ‘पोखरामा आएका साथीहरु आन्दोलनबाहेकको घुमघामको फोटो पोस्ट गरेको पाइए कारबाही हुन्छ’, म्यासेजमा भनिएको छ, ‘सबै पार्टी सदस्यले आन्दोलनको फोटो, भिडियो शेयर गर्न निर्देशन गरिन्छ ।’

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछाने शुक्रबार काठमाडौंबाट पक्राउ परेका हुन्। सोही दिन राति उनलाई पोखरा लगिएको थियो। शनिबार सार्वजनिक बिदा भएका कारण उनलाई आइतबार म्याद थपका लागि आइतबार जिल्ला अदालतमा उपस्थित गराइएको थियो।

अदालतले उनलाई पक्राउ भएको दिनदेखि गणना हुनेगरि ६ दिनको म्याद थपेको थियो । जुन आज रातिबाट सकिँदैछ । रविको पक्राउको विरोधमा रास्वपाले यतिबेला पोखरामा प्रदर्शन गरिरहेको छ । रास्वपाले देशैभरका हरेक जिल्लाबाट कम्तीमा १०० जना कार्यकर्ता पोखरा जान सर्कुलरसमेत जारी गरेको थियो। पोखरेली जनताको समेत उक्त विरोध प्रदर्शनमा साथ खोज्दै रास्वपाका नेताहरुले पोखरामा घरदैलो कार्यक्रमसमेत गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्