Logo

रास्वपालाई धनराजको चुनौतीः पूर्व श्रीमतीको गल्तीमा म दोषी भए रविको गल्तीमा निकितालाई कारबाही गर

काठमाडौं– सहकारी ठगी प्रकरणमा जोडिएपछि कास्की प्रहरीको हिरासतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछाने परेपछि उनको बचाउमा उत्रिएको रास्वपाले सहकारी ठगीमा जोडिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि कारबाही गरेर देखाउन सरकारलाई चुनौती दिइरहेको छ ।

सत्तारुढ दल कांग्रेसका उपसभापति रहेका गुरुङकी श्रीमती ज्योति गुरुङ महाप्रबन्धक रहेको ललितपुरको मितेरी सहकारीमा झण्डै १२ करोड रकम अपचलन भएको सहकारी ठगीसम्बन्धी छानबिन गर्न बनेको सूर्य थापा नेतृत्वको छानबिन समितिको निष्कर्ष छ । थापा नेतृत्वको समितिले मितिरे सहकारी ठगीमा संलग्नमाथि आवश्यक अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको थियो । यद्यपि हालसम्म सरकारले छानबिन सुरु गरेको छैन् ।

सहकारी ठगीमा ज्योति मुछिएको थाहा पाएपछि केही वर्षअघि नै धनराजले सम्बन्ध विच्छेद्ध गरेको दाबी गरेका छन् । अदालती प्रक्रिया पूरा गरेर डिभोर्स गरेपछि यसलाई धेरैले सहकारी डिभोर्स भनेका छन् । उस्तै प्रकरणमा रास्वपाका सभापति प्रहरीको थुनामा पर्ने र सत्तारुढ दलका उपसभापतिलाई उन्मुक्ति दिइएको भन्दै रास्वपा कार्यकर्ताको निशानामा गुरुङ परेका छन् । रास्वपाले गरिरहेको विरोध प्रदर्शनमा धनराजमाथि छानबिन गर, शक्तिको आडमा धनराजलाई उन्मुक्ति दिन पाईंदैन लगायत लेखिएका प्लेकार्डहरु प्रदर्शन भइरहेका छन् ।

रास्वपाका नेता तथा कार्यकर्ताले आफूलाई निशानामा राखेपछि धनराजले पनि मुख खोलेका छन् । मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै धनराजले पूर्व श्रीमतीले गरेको गल्तीको दोष आफूलाई लाग्ने भए रविले गरेको गल्तीको दोषी रविकी श्रीमती निकिता हुनुपर्ने भन्दै निकितालाई दोषी ठहर्याउन चुनौती दिएका छन् ।

‘रास्वपाका साथीहरुले केही दिन देखि मेरो तस्बिर देखाएर आन्दोलन गरेको सुनें । सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता नभएको र निश्पक्ष छानवीनको लागि मैले सम्मानीत संसद्मा कुरा राखिसकेको छु’ गुरुङले भनेका छन् ‘म सधैं भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्धमा खरो उत्रने सच्चा नेपाली हुँ। म रास्वपाका साथीहरुलाई सोध्न चाहन्छु यदि ज्योती गुरुङले गरेको गल्तीको दोषी मलाई बनाएर नाराबाजी गर्ने हो भने रवि लामिछानेले गरेको गल्तीमा निकिता पौडेललाई पनि हिरासतमा राखेर कार्वाही गर्न किन माग नगरेको रु’ ।

 

प्रतिक्रिया दिनुहोस्