Logo

एमालेको पार्टी कार्यालय बनाउन मीनबहादुर गुरुङले दिएको जग्गाविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं– पार्टी कार्यालय बनाउन भन्दै नेकपा एमालेलाई भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले दिएको जग्गाविरुद्धको विषय सर्वोच्च अदालतमा पुगेको छ ।

एमालेले पाएको दाने जग्गा खारेज गराउन सर्वोच्चमा रिट दायर भएको छ । अधिवक्ता ज्ञानबहादुर बस्नेतलगायतले सर्वोच्चमा रिट हालेका हुन् । सो रिटको पेशी भोलिको लागि तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

सर्वोच्चले सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो । तर न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मङ्गलवार दरपिठ बदर गर्दै दर्ता गर्न आदेश गरेको थियो । उक्त आदेशपछि बुधवार रिट दर्ता गरिएको सर्वोच्च प्रशासनले जनाएको छ । रिटमा १० रोपनी १४ आना जग्गा दान दिने व्यक्ति विरुद्ध ललित निवासको भ्रष्टाचार मुद्दा विचाराधीन रहेको अवस्था रहेको र विवादित व्यक्तिको जग्गा किन लिइयो भनी सार्वजनिक प्रश्न उठिरहेको समयमा सरकारकै नेतृत्व गरेका प्रधानमन्त्रीले भवन उद्घाटन समेत गरेकाले अन्तरिम आदेश जारी गरी रोक्न माग गरिएको छ।

हाल पार्टी कार्यालय रहेका ललितपुरको च्यासलमा असोज १० र ११ गते परेको अविरल वर्षाले क्षति पुर्याएपछि कीर्तिपुरमा गत दशैंको फुलपातीको दिन एमालेले पार्टी कार्यालयको शिल्यान्यास गरेको थियो । गुरुङले दिएको दाने जग्गामा उनैले सम्पूर्ण रकम खर्चेर अर्को दशैंको घटस्थापनासम्म भवन बनाइदिने बताएका छन् । सो भवन शिल्यान्यास विवादमा तानिएको छ । सामाजिक सञ्जाल हुँदै उक्त विवाद अव अदालतमा प्रवेश गरेको छ । उक्त विवाद अब अदालतले न्यायीक परिक्षण गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्