Logo

एमालेको केन्द्रीय कार्यालय निर्माणका लागि दानमा लिएको जग्गाविरुद्ध आज सर्वोच्चमा सुनुवाई हुँदै

काठमाडौं– नेकपा (एमाले)को केन्द्रीय कार्यालय निर्माण गर्न जग्गा दिने व्यवसायी मीनबहादुर गुरुङ र लिने एमालेविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुँदैछ। भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक मीनबहादुर गुरुङले दानमा दिएको दाबी गरिएको उक्त जग्गा लिनु र कुनै दलको पार्टी कार्यालय खोल्नु भ्रष्टाचार हुने दाबीसहित अधिवक्ता ज्ञानबहादुर बस्नेतले सर्वोच्च अदालतमा बुधवार रिट दायर गरेका थिए ।

धिवक्ता बस्नेतले दर्ता गरेको रिटमा भ्रष्टाचारमा दोषी ठहर भएका गुरुङबाट प्रधानमन्त्रीको रुपमा सार्वजनिक पद धारण गरेको व्यक्तिले जग्गा लिनु स्वार्थ बाझिने र भ्रष्टाचार निवारण ऐन र राजनीतिक दलसम्बन्धी ऐनविपरीत भएको दाबी गरिएको छ ।
सर्वोच्चले सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो । तर न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मङ्गलवार दरपिठ बदर गर्दै दर्ता गर्न आदेश दिएपछि बुधवार रिट दर्ता गरिएको थियो ।

रिटमा १० रोपनी १४ आना जग्गा दान दिने व्यक्ति विरुद्ध ललित निवासको भ्रष्टाचार मुद्दा विचाराधीन रहेको रहेको र विवादित व्यक्तिको जग्गा किन लिइयो भनी सार्वजनिक प्रश्न उठिरहेको समयमा सरकारकै नेतृत्व गरेका प्रधानमन्त्रीले भवन उद्घाटन समेत गरेकाले अन्तरिम आदेश जारी गरी रोक्न माग गरिएको छ । उक्त भवनमा निर्माण रोक्नु भनी पहिलो सुनुवाइमै अन्तरिम आदेश जारी गर्न रिटमा माग गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्