Logo

रविलाई हिरासतमा राखेर बयान लिन आलटाल गरेको रास्वपाको दाबी

काठमाडौं– रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध नै साँधिएको पुष्टि भएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बताएको छ। बिहिबार पोखरामा पत्रकार सम्मेलन गर्दै उपसभापति डा स्वर्णिम वाग्लेले हालसम्म रास्वपाले प्रतिशोध दाबी गरेपनि हाल सो कुरा पुष्टी भएको उल्लेख गरेका हुन् ।

रविलाई हिरासतमा राखेको १२५ घण्टामा प्रहरीले ४, ५ घण्टा मात्रै बयान लिएको उनले बताएका छन् । उनले भने, ‘राजनीतिक प्रतिसोध नै साँधिएको थियो भन्ने दाबी थियो हिजो साँझबाट त्यसको पुष्टि भएको छ । शुक्रवार दिउँसो पक्राउ गरियो । हिजो साँझ १०–११ बजेसम्मको हिसाब गर्दा १२५ घण्टा हिरासतमा राखिएको रहेछ । त्यो समयमा ४–५ घण्टा मात्रै बयान लिइएको छ । आलटाल गर्ने । के उहाँलाई दालभात खुवाउन ल्याएको हो?’

रविलाई हिरासतमा पुराना प्रश्नहरु नै थोरै सोध्ने गरेको खबरहरु बाहिर आएका छन् । प्रहरीले बयानका क्रममा के सोध्ने भनेर तयारी नगरी हिरासतमा किन राखियो भन्दै उपसभापति वाग्लेले आक्रोश पनि पोखेका छन् । उनले भने, ‘तयारी थिएन पहिला? के सोध्ने भन्ने थाहा छैन? पहिला थुन्ने अनि सोध्न थाल्ने? यो मानमर्दन गर्ने शैली सरकारको तेरो सेखी झार्छु देखाइदिन्छु भन्ने शैलीमा सरकार छ । यसलाई सभ्य भाषामा राजनीतिक प्रतिशोध नै भन्छन् ।’

शुक्रबार साँझ काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ परेका रविलाई आइतबार उच्च अदालत कास्कीले पक्राउ परेका मितिले ६ दिनका लागि म्याद थप गरेको थियो । आजदेखि उक्त म्याद सकिएकाले रविलाई अदालतमा उपस्थित गराईँदैछ । प्रहरी र सरकारी वकिलको कार्यालयले रविविरुद्ध बयान बाँकी रहेकाले हिरासतमा राख्न थप म्याद माग्ने तयारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्