Logo

आफुले काम गर्ने कम्पनीलाई चन्दा नदिए बमले उडाइदिन्छु भन्दै म्यासेज पठाउने कामदार भन्छन्, ‘दशैं खर्च चाहिएको थियो’

काठमाडौं– आफुले काम गर्ने कम्पनीको म्यानेजरलाई चन्दा नदिए बम विस्फोट गराउने धम्की दिँदै म्यासेज गर्ने व्यक्ति पक्राउ परेका छन् । सिन्धुपाल्चोकको ज्यामिरेका ३२ वर्षीय आकाश तामाङलाई प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको हो ।

उनी काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–८ मा चिनियाँ नागरिकले सञ्चालन गरेको सिसुवान याङ टेक्टटायल प्रालि नामको कपडा उद्योगमा काम गर्दै आएका थिए । कम्पनीको म्यानेजरमा नेपाली महिला मिङवुती शेर्पा छिन् ।

शेर्पाको मोबाइल नम्बरमा २१ असोजको राति ८ः४० बजे एउटा म्यासेज आयो । ‘हाम्रो पार्टीलाई डेढेदेखि २ लाख सहयोग गर्नुस् । रकम लिएर नुवाकोटमा भेट्न आउनु । नत्र बम बिस्फोट गरेर कम्पनी उडाइदिन्छु’ भन्ने म्यासेज पठाइएको थियो ।

म्यासेज आएको भोलिपल्ट शेर्पाले काँडाघारी प्रहरीमा गएर घटनाबारे बताइन् । शेर्पाको मोबाइलमा एनसेलको नम्बरबाट म्याजेग आएको भन्दै प्रहरीलाई नम्बरसमेत उपलब्ध गराएकी थिइन् । तर त्यतिबेला उक्त नम्बर स्वीच अफ भइसकेको थियो ।

त्यसको करिब एक सातापछि फेरि अर्को नयाँ नम्बरबाट शेर्पाकै मोबाइल नम्बरमा अर्को म्यासेज आयो । ‘तँ प्रहरीमा समेत गइस् हैन? पैसा नदिइ प्रहरीमा खबर गरिस् हैन? अब प्रहरीलाई भनिस् भने राम्रो हुनेछैन’ यही विवरणको म्यासेज शेर्पाको मोबाइल आयो ।

सोपछि शेर्पाले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएकी थिइन् । सोही आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उद्योगमै कार्यारत तामाङले उक्त धम्कीपूर्ण म्यासेज गरेको खुलेको हो ।

उक्त कार्यमा संलग्न तामाङलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित सोही कम्पनीबाट सोमबार पक्राउ गरेको छ । उनीविरुद्ध आपराधिक लाभको कसुरमा अनुसन्धान भइरहेको छ ।

प्रहरी समक्ष तामाङले दशैंको मुखमा खर्च चाहिएकाले सामान्य धम्क्याउँदा चाइनिज डराएर पैसा दिइहाल्छ भन्ने सोचेर धम्क्याएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्