Logo

भोलिबाट कार्तिक ३० गते सम्म कालीगण्डकीको उत्तरवाहिनीमा हुँदै छ मातापितापूजन एवं दामोदर महोत्सव

कार्तिक ९ गते (भोलि) देखि ३० गते सम्म कालीगण्डकीको उत्तरवाहिनीमा मातापितापूजन दामोदर महोत्सवको आयोजना हुने भएको छ । मातापिता प्रतिको सम्मान र सेवाभाव बढाउनको लागि कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा कालिगण्डकी नदीको किनारमा ‘मातापिता पूजन एवम् गण्डकी शालग्राम दामोदर महामहोत्सव’ गर्न लागिएको हो । स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुंगा र पाल्पाको रम्भा गाउँपालिका–१ असेर्दीमा रहेको उत्तरवाहिनीमा उक्त महोत्सवको आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष आचार्य चैतन्यकृष्ण महाराजले जानकारी दिएका छन् ।

महामहोत्सवमा मातापिताको प्रत्यक्ष एवम् मानसपूजन, विभिन्न महापुरुषहरूद्वारा दिव्य प्रवचन, समग्र योग अनुशासन, प्राणायाम, ध्यान तथा साधना गरिने छ । यसैगरी हातहातमा दीपक लिएर गण्डकी एवम् दामोदरको आरती, सविधि कात्तिक स्नान तथा उत्तरवाहिनी गण्डकी मन्त्रोच्चारणपूर्वक जीवन जिउने कला, तनाव व्यवस्थापन, मातापिताको सेवालगायत विधाका प्रशिक्षण हुने छन् ।

सो अवसरमा शिक्षा अध्यात्म, संस्कृति क्षेत्रको प्रेरक, अनेकौँ विज्ञहरूको सम्मेलन, गोष्ठी सेमिनारहरू, आयुर्वेद योग र प्राकृतिक उपचारको सिकाई गरिने छ । यसैगरी कर्मकाण्ड, ज्योतिष एवम् वास्तु शास्त्रको सरलतम प्रशिक्षण, विशिष्ट सन्त, वैज्ञानिकहरूको बिचमा अदभूत अन्तर्संवाद रहने प्रतिष्ठानका अध्यक्ष चैतण्यकृष्णले बताए ।

प्रतिष्ठानद्वारा सञ्चालित गुरुकुलममा विभिन्न जिल्लाका गरी ३३ जना विद्यार्थीहरू अध्ययनरत छन् । महोत्सवले विद्यार्थीहरूको अध्ययन तथा प्रतिष्ठानलाई दिगोपनाका लागि सहयोग पुग्ने प्रतिष्ठानले जनाएको छ । गुरुकुलममा विद्यार्थीहरू निःशुल्क रूपमा अध्ययन गरिरहेका छन् । उनीहरूको निःशुल्क विद्यादान, अन्नदान र जीवनदानका लागि अक्षयकोष स्थापनार्थ यो महामहोत्सवको गर्न लागिएको अध्यक्ष चैतन्यकृष्णले जानकारी दिनुभयो । विभिन्न कार्यक्रम मार्फत ११ करोडको अक्षयकोष स्थापना गर्ने प्रतिष्ठानको योजना छ ।

गण्डकी स्नानको महत्व बढाउने कात्तिक स्नान, दीपदानजस्ता महत्वपूर्ण विषयसमेत यो महोत्सवले जोड्ने आयोजकको भनाइ छ । कात्तिक १ गतेदेखि हरेक दिन अनुष्ठानका कार्यहरू भइरहेको उनले बताए । कात्तिक ९ देखि ३० गतेसम्म मातापिता पूजन एवम् गण्डकी शालग्राम दामोदर महामहोत्सव हुने प्रतिष्ठानले जनाएको छ ।

जीवित रहेका आफ्ना मातापिता प्रतिको कर्तव्यबोध गराउँदै दिवङ्गत भइसकेको मातापिता प्रति श्रद्धाभाव जनाउन महोत्सव गर्न लागिएको अध्यक्ष चैतण्यकृष्णको भनाइ छ ।

विस्तृत जानकारीको लागिः ९८५११४६२३४

प्रतिक्रिया दिनुहोस्