Logo

खबरदारी सभामा प्रचण्डको गर्जन : ०८४ मा कांग्रेस र एमालेजस्तो भ्रष्ट र दलालसँग मिलेर चुनाव लड्दैनौं, एक्लै लड्छौ

काठमाडौं, १० कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८४ को निर्वाचनमा पार्टीले एक्लै चुनाव लड्ने उद्घोष गरेका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले विगतमा कांग्रेस र एमालेसँग चुनावी सहकार्य गरेर पार्टीले गम्भीर गल्ती गरेकोले अब त्यो गल्ती नदोहोर्याउने उद्घोष गरे । उनले कांग्रेस र एमालेलाई भ्रष्ट पार्टीको संज्ञासमेत दिए ।

खबरदारी सभामा सम्बोधन गर्दै प्रचण्डले भने,‘मलाई आज विशेष गर्वको महशुस भएको छ । जम्मा ४ दिनको तयारीमा यो अपार उपस्थितिको निम्ति हार्दिक आभार व्यक्त गर्दछु । यदि सरकारले यो खबरदारी सभालाई गम्भीरतापूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने कुरा यही सभाले संकेत गरेको छ । सरकारलाई गम्भीर रुपमा लिन चूनौति दिन चाहन्छु ।’

उनले बाढि, पहिरोको विपत्तिको कारण मुलुले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको र सरकार उदासिन भएको आरोप लगाए । उनले भने,‘हिजोको लापरवाही फेरि नदोहोरियोस भनेर म सरकारलाई सचेत गराउन चाहन्छु । अब उद्धार, राहत र पूननिर्माणको कार्य जिम्मेवारीपूर्वक रुपले गरियोस । यो खबदरदारी सभा हो । मैले अन्तिमपटक विश्वासको मत लिँदै गर्दा पनि भनेको थिएँ, यो सरकार नयाँ बनेकोमा मलाई र मेरो दललाई कुनै चिन्ता छैन भनेर । यो सरकार को को निम्ति र कसको लागि बन्यो भन्ने कुरा छर्लङै छ, यो सरकार सुशासनविरुद्ध बन्यो अनि भ्रष्टाचारीलाई बचाउन बन्यो । त्योपनि रातको अँध्यारोमा बन्यो । यो सरकार दलालहरुको घरघरमा गएर रातको १२ बजे बन्यो । अप्राकृतिक संसर्गबाट बन्यो भनेको थिएँ । १०० दिन नपुग्दै, जे चिन्ता गरेको थियौं, त्यो कुरा सरकार आँफैले पुष्टि गर्यो । खबरदारी सभा राख्नेबित्तिकै सत्ता पक्षलाई एकठाउँमा राखेर सरकारले सडकबाट विकल्प खोज्ने भनिसक्यो । हामी सरकार ढाल्ने मुख्य काम बनाउने छैनौं भनेको थियौं । हामीले सरकारमा भएका कांग्रेस र एमालेलाई तपाईंहरु भ्रष्टाचारको रक्षाको निम्ति र विचौलियाको पक्षमा जाँदै हुनुहुन्छ, तपाईंहरु आँफै कुहिरिएर झर्नुहुनेछ भनेका थियौं ।’

प्रचण्डले आफूहरुले सरकार ढाल्नको लागि खबरदारी सभा नगरेको स्पष्ट पारे । उनले भने,‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति के जिम्मेवारी पूरा गर्नुपर्छ भनेर हामीलाई गहिरोबोध छ । बरु, हामीले खबरदारीसभा गर्नेबित्तिकै सत्तापक्षमा आतंक देखापर्यो । उहाँहरुले सरकार ढल्छ भन्नुभयो । सरकार ढल्छ भन्ने चिन्ताले अझ धेरै बेथितिविरुद्ध नजानुहोला, म यही खबरदारीसभाबाट चेतावनी दिन चाहन्छु ।’

उनले गणतन्त्र र संविधान माओवादीको त्याग, बलिदान र संघर्षको जगमा बनेको भन्दै त्यसको रक्षा आफूहरुको पहिलो दायित्व भएको सम्झाए । उनले भने,‘यसमाथि आघात नपुगोस भन्नेमा हामी गम्भीर र जिम्मेवार छौं । हामीले खबरदारी सभा नगर्ने र सकारकोको बेथिति र भ्रष्टाचारको विरोध नगर्ने हो भने प्र्रतिक्रान्तिकारीले टाउको उठाउने खतरा हुन्छ भनेर यो खबरदारी सभा गरेका हौं । आन्दोलनमा जान जरुरी ठानेका हौं । माओवादीले अहिले नै सडकबाट सरकार फेर्न हतारो गर्यो भनेर भ्रम पालेको हो भने त्यो फाल्नुहोस ।’

उनले कांग्रेस र एमालेलाई दलाल, पुँजीपतिहरुको प्रतिनिधि पार्टीको संज्ञा दिँदै उनीहरुसँग विगतमा सहकर्या गरेर गल्ती गरेको महुशस सुनाए । उनले भने,‘तपाईंहरुजस्ता पार्टीहरु यो देशको दलाल, पँुजीपतिहरुको प्रतिनिधिको रुपमा रहनुभएको छ, तपाईंहरुसँग सहकार्य गरेर गल्ती गर्यौं भन्नेछ । तपाईंहरुको रोग हामीलाई पनि अलिअलि सर्यो भनेर गम्भीर आत्मसमिक्षामा छौं । अब हामी तपाईंहरुसँग फेरि समिकरण गरौं, माओवादीलाई मन्त्री र प्रधानमन्त्री बनाईदिनुहोस भनेर आउने छैनौं । तपाईंहरुलाई धन्यवाद भनेको छु । हामी अलि अलि बिग्रिन थालेका थियौं । हामीलाई बेलैमा निकाल्नुभयो र जनतातिर फर्काउनुभयो भनेको थिएँ । हामीले पार्टी केन्द्रमा गम्भीर आत्मसमिक्षा पनि गरिसकेका छौं । कांग्रेस र एमालेजस्तो भ्रष्ट र जाली नेताहरुसँग लागेर माओवादीपनि के हो के हो भन्ने परेको थियो, आत्मआलोचना गर्दै जाली फटाहासँग लागेर बिग्रियौं भनेर भन्नेछौं । टेन्सन नलिनुहोस ।

प्रतिक्रिया दिनुहोस्