Logo

काठमाडौंमा बढ्यो वायु प्रदूषण, भारतको दिल्लीको अवस्था झनै खराब

काठमाडौं– काठमाडौंमा वायु प्रदूषण बढ्न थालेको छ । शुक्रबार बिहान साढे १० बजेसम्म सबैभन्दा खराब वायु काठमाडौंको शंखपार्क क्षेत्रमा रहेको वातावरण विभागले जनाएको छ ।

सो क्षेत्रमा एयर क्वालिटी इन्डेक्स ११३ रहेको वातावरण विभागको एयर क्वालिटी मनिटरिङ सिस्टममा उल्लेख छ । यस्तै रत्नपार्क, भक्तपुर र दाङ देउखुरी क्षेत्रमा पनि प्रदूषित वायु रहेको वातावरण विभागले जनाएको छ ।

हावामा धुँलोका कण र धुँवाको मात्रा बढ्दा वायु प्रदूषित हुने गरेको छ । धूलोलाई पखाल्ने गरी पानी नपर्दासम्म र बेस्सरी हावा नचल्दासम्म प्रदूषण झन् बढ्ने गर्दछ ।अहिले पोष्ट मनसुन अवधिमा काठमाडौंमा पानी समेत नपरेकाले वायु प्रदूषण बढेको हो ।

साथै छिमेकी देश भारततर्फबाट प्रदूषित हावा नेपालसम्म आइपुगेको कारणले पनि वायु प्रदूषण बढेको छ । भारतमा केही दिनयता वायु प्रदूषण ह्वात्तै बढेको छ । राजधानी नयाँदिल्ली र आसपासका क्षेत्रमा वायु प्रदूषणको लेभल बढ्दै गएको छ ।

भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार भारतको आनन्दबिहारमा एयर क्वालिटी इन्डेक्स (एक्युआई)४०६ र अलिपुर क्षेत्रमा ४०३ मापन भएको थियो । यसले हावाको अवस्था गम्भीर श्रेणीमा पुगेको जनाउँछ ।

आइतबार बिहान ८ बजे भारतको नयाँदिल्लीमा औसत एक्यूआई ३५६ थियो । दिल्ली आसपासका धेरैजसो स्थानमा एक्युआई ३५० देखि ४०० सम्म पुगेको देखिएको थियो ।

वायु प्रदूषणका कारण आँखामा जलन, घाँटी खसखस हुने र श्वासप्रश्वासका बिरामी बढी मारमा पर्ने गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्