Logo

इजलास कक्षमा रविमाथी दुव्र्यवहार भएको भन्दै भ्रम फैलाएको भन्दै प्रहरीको आपत्ती

फाइल तस्बिर

काठमाडौं– प्रहरी अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका क्रममा अदालत लैजाँदा इजलासमा प्रहरीले दुर्व्यवहार गरेको, हातहतियारसहित इजलासमा प्रवेश गरेकोलगायतका आरोप लागेपछि प्रहरीले आपत्ति जनाएको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीले भ्रामक तथा कपोकल्पित विचार टिकटक लगायत सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘यस्ता तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरुबाट जनमानसमा गलत सूचना सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

कसैले अनुमानका आधारमा भनेको, सुनेको तथ्यहीन कुरालाई सम्प्रेषण नगरी, सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार, सन्देशमात्र सम्प्रेषण गर्न जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जारी गरेको उक्त विज्ञप्तीमा भनिएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा कात्तिक २ गते काठमाडौंको रास्वपा पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही राति पोखरा लगिएको थियो ।

शनिबार सार्वजनिक बिदा भएकाले आइतबार अदालतमा उपस्थित गराइएका उनलाई अदालतले पक्राउ परेको दिनदेखि लागू हुने गरी ६ दिनको म्याद दिएको थियो । उक्त म्याद सकिएपछि बिहिबार अदालतले दोस्रो पटक अनुसन्धानका लागि थप ७ दिनको म्याद दिएको थियो ।

सोही क्रममा केही व्यक्तिले रविमाथी इजलासमै दुर्व्यवहार भएको र अपशब्द प्रयो गरिएको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्