Logo

प्रचण्डले ‘हतियार चलाउन बिर्सिएको छैन’ भन्दा प्रधानमन्त्रीको जवाफः हतियार बिसाउन लगाउन जानेको छ हामीले

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हतियार बिसाउन लगाउन आफूहरूले जानेको जवाफ दिएका छन् ।

गैरआवासीय नेपालीको वार्षिक साधारणसभालाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्तिलाई लक्षित गर्दै यस्तो जवाफ दिएका हुन् ।

‘हिजो एक जना उफ्री उफ्री भाषण गर्दै थिए, हतियार बिसाएको मात्र हो भ्रम नरहोस्, चलाउन बिर्सेको छैन रे ।’ उनले त्यस्तो हुन नहुने बताए ।
माओवादीले अझै धम्क्याएको भरमा खाने गरेको आरोपसमेत प्रधानमन्त्री ओलीले लगाए । उनले हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्ने आफूलाई थाहा भएको समेत बताए ।

उनले भने, ‘फेरि हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्ने हामीलाई थाहा छ । हामी चलाउन त चलाउँदैनौ तर बिसाउन लगाउन जानेको छ हामीले ।’

माओवादी केन्द्रले शनिबार खबरदारी सभा आयोजना गरेको थियो । सो सभामा अध्यक्ष प्रचण्डले आफूहरुले हतियार बिसाएको तर चलाउन नबिर्सेको भन्दै सरकारको नेतृत्व गर्ने दलहरुलाई चेतावनी दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्