‘सरकार प्राप्त गर्न वा सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी गर्ने जस्ता घिनलाग्दा काम हामीबाट हुन सक्दैन’


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भिड जम्मा गरेर सत्ता कब्जा गर्न सकिन्छ भन्ने सोच नराख्न विरोधीलाई चेतावनी दिएका छन् । आइतबार काठमाडौंमा राष्ट्रिय सुरक्षा तथा विकासमा पूर्व सुरक्षाकर्मीहरुको भूमिका बिषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले सिंहदरबार र बालुवाटार कब्जा गर्छौँ भन्ने छाडातन्त्र सह्य नहुने चेतावनी दिए ।

‘लोकतन्त्र भनेको छाडातन्त्र होइन् । नेपाल लडेर बनेको र लडेर बचाएको राष्ट्र हो । सिंहदरबार वा बालुवाटार कब्जा गर्छौँ, चुट्छौँ, मार्छौ, काट्छौँ भन्ने छाडातन्त्र सह्य हुँदैन । लोकतन्त्र भनेको अराजकता होइन् । लोकतन्त्र उपयोग गर्ने नाममा राष्ट्रियतालाई कमजोर पार्नेकुरा कदापी हुन दिँदैनौं’ उनले भने ।

एमाले अध्यक्षसमेत रहेका ओलीले सरकार टिकाउन र सत्तँमा बस्न आफूले कदापी राष्ट्रियतामा सौदावाजी नगर्ने बताए । ‘हामी अरुको हितमा असर नपार्ने र आफ्नो जायज हित नछाडने सङ्कल्पका साथ अघि बढ्का छौँ । सरकार प्राप्त गर्न वा सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी गर्ने जस्ता घिनलाग्दा काम हामीबाट हुन सक्दैन’, उनले भने ।

ओलीले माटामुनि लुकाइएका, खिया लागेका हतियारले अब काम नगर्ने बताए । नेपाली समाजलाई झुटो प्रचार गरेर धम्की नदिन उनले नेकपा माओवादी केन्द्रलाई चेतावनी दिए । आफूलाई अलोकप्रिय भएको भनेर टिप्पणी गर्नेलाई जवाफ दिँदै उनले भाडामा खटाइएकाहरूले विरोध गरेको टिप्पणी गरे ।