Logo

देखिने ठाउँमा ‘१२ गाउँ’को पोष्टर नराखेपछि रिसाए विराज, हुर्याए स्वागतमा दिइएको ‘बुके

काठमाडौं– चलचित्र ‘१२ गाउँ’ ले राम्रो प्रदर्शन गर्दै सुपरहिट भइसकेको छ । रिलिजको तेस्रो साता नाघिसक्दा पनि हलहरुमा फिल्मको राम्रो अकुपेन्सी रहेको छ ।

चलचित्र सुपरहिट भएसँगै फिल्मका निर्माता, निर्देशक तथा अभिनेता विराज भट्टको फुर्तिफार्ति पनि निकै बढिरहेको छ । यसैक्रममा हाल विराज र फिल्ममार्फत डेब्यु गरेका विराजका छोरा समिर भट्टको एउटा भिडियो क्लिप भाइरल भइरहेको छ ।

सामाजिक सञ्जालमा भाइरल उक्त भिडियोमा विराजले स्वागतस्वरुप दिइएको फुलको बुके मिल्काएको देखिन्छ । उनी केही कुरामा असन्तुष्ट भएर यस्तो क्रियाकलाप गरेकोजस्तो उक्त भिडियोमा देखिएको छ ।

भिडियोमा देखिएको उक्त घटना शनिबारको हो । हल हलमा पुगेर दर्शकहरु भेट्ने क्रममा विराज छोरा समिरलाई लिएर बाँकेको नेपालगन्जस्थित क्यूएफएस हल भिजिटका लागि पुगेका थिए । उनीहरुलाई फुलगुच्छाले स्वागत गर्दै हल सञ्चालकले भित्र लगेर बसाले । तर, बिराजको अनुहारमा हल सञ्चालकको खातेरदारी देखेर खुशी भन्दा पनि क्रोध देखिएको थियो ।

किनभने उक्त हलमा विराजको फिल्म ‘१२ गाउँ’को ठूलो ब्यानर राखिएको थिएन । उक्त हलको अगाडीपट्टी दुई वटा पोस्टर अटाउने ठाउँ थियो । जहाँ ‘१२ गाउँ’ सँगै प्रदर्शनमा आएको छक्कापन्जा र ज्वाईँसाहेबको पोस्टर राखिएको थियो ।

‘१२ गाउँ’को पोष्टर भने केही साइडमा छाया पर्ने गरि राखिएको थियो । आफ्नो फिल्मको व्यानर भने देखिने ठाउँमा नराखिएको भन्दै उनी हल सञ्चालकसँग रिसाएका थिए । यस्तो अन्याय पनि गर्नुहुन्छ? खै मेरो पोष्टर? भन्दै फुलगुच्छा फालेको बताइएको छ ।

विराजको उक्त क्रियाकलापलाई कतिपयले फिल्म चलेका कारण अहमता देखाएको भन्दै टिप्पणी गरेका छन् । आफ्नो फिल्मको पोस्टर नदेखेपछि रिसाउनु स्वभाविक भएको भन्दैले उनका फ्यानहरुले प्रतिक्रिया जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्