Logo

नेपाल र भारतबीचको सेमिफाइनल खेल: दर्शकको नारबाजी, साम्बाको उत्कृष्ट गोल अनि पेनाल्टीमा नेपालको शानदार जीत

काठमाडौं– आइतबार राति दशरथ रंगशालामा भएको साफ वुमन्स च्याम्पियनसिप–२०२४ अन्तर्गत नेपाल र भारतबीचको सेमिफाइनल निकै विवादित, तनावपूर्णका साथै रोमाञ्चकताले भरिएको थियो ।

रेफ्रीको विवादित निर्णय एक घण्टाभन्दा बढी समयसम्म रोकिएको खेलमा दर्शकको नारबाजी, साम्बाको उत्कृष्ट गोल अनि पेनाल्टीमा नेपालको शानदार जीतले भरिएको थियो । ।

साँझ ६ः३० बाट सुरु भएको खेलमा पहिलो हाफ गोलरहित सक्किएको थियो । दोस्रो हाफमा भने विवादका लहरहरु नै चल्यो । खेलको ५१औं मिनेटमा नेपालकी खेलाडी रेखा पौडेलले रातो कार्ड पाउँदै मैदान बाहिरिइन् । उनले दोहोरो पहेंलो कार्ड पाएपछि रातो कार्ड पाएकी थिइन् ।

उनको गल्ती नदेखिँइदा पनि रातो कार्ड दिइएको भनेर खेल १३ मिनेटसम्म रोकियो । रेखाले रातो कार्ड पाएपछि नेपालका १० खेलाडीमात्र मैदानमा थिए । यसैको फाइदा उठाउँदै खेलको ७१औं मिनेटमा संगीता बासफोरेले गोल गर्दै भारतलाई अग्रता दिलाइन् ।

उक्त गोललाई भारतले निकै सेलेब्रेट गरिरहेको थियो । मैदानका खेलाडी बेन्चका खेलाडी र कोचिङ स्टाफहरू सबैले मैदानको साइडमा खुशी मनाइरहेका थिए ।

भारतले खुसी मनाइरहेका बेला रेफ्रीले सिठी फुकेपछि नेपालले सेन्टरबाट बल चलायो । सावित्रा भण्डारीले चलाउँदै दिएको पासमा प्रीति राईले ७२औं मिनेटमा नेपालका लागि बराबरी गोल फर्काइन् । भारतका केही खेलाडी बल बचाउन गर्न पनि गएका थिए तर धेरै जसो भने खुशीमै रमाइरहेका थिए ।

रेफ्रीले बल चलाउन दिइसकेको सुरुमा नेपालको गोलले मान्यता पनि पाएको थियो । नेपालले बराबरी गोल फर्काएपछि नेपाली खेलाडी र दर्शकहरु गोलको खुशी मनाउन थालिसकेका थिए । तर, स्कोर बोर्डमा नेपालको गोल देखाइएन ।

नेपालले गरेको गोलले मान्यता नपाएपछि नेपाली खेलाडी कोचिङ स्टाफ सबै जना त्यसको प्रतिवादम उत्रन थाले । नेपालको गोलले मान्यता नपाएपछि नेपाली खेलाडीले फेरि सेन्टरबाट बल चलाए । ७३ मिनेट र केही सेकेण्डको खेल चलिरहेको बेला दर्शकले रेफ्रीलाई लक्षित गर्दै बोतल हान्न थाले ।

त्यसपछि बनेको तनावपूर्ण स्थितिमा एक घण्टाभन्दा बढी समयसम्म खेल रोकियो । यसबीचमा नेपाली खेलाडी, कोचिङ स्टाफ, व्यवस्थापक, म्याच कमिसनर, रेफ्री एसेसर, रेफ्री, असिस्ट्यान्ट रेफ्रीहरुबीच लामो छलफल भइरहेको थियो ।

लामो बहसपछि खेल फेरि सुरु भयो । खेल फेरि सुरु हुँदा ६४औं मिनेट देखि सुरु भएको थियो । खेल सुरु भएलगत्तै नेपाली गोल मेसिस साम्बाले बराबरी गोल फर्काइन् । प्रीति राईले उपलब्ध गराएको पासमा साम्बाले सानदार गोल गरिन् । लगत्तै उनले जर्सी नै फुकालेर सानदार सेलेब्रेसन पनि गरिन् ।

निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीलाई मध्यनजर गर्दै नेपालले खेलको अन्त्यतिर कप्तान तथा नियमित किपर एन्जला तुम्बापो सुब्बाको स्थान अन्जना राना मगरलाई मैदान पठाएको थियो ।

त्यसपछि थप गोल हुन नसक्दा खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । भारतलाई टाइब्रेकरमा ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

त्यसअघि पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ७(१ ले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ । अब साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल बुधबार बंगलादेश र नेपालबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्