Logo

गाउँमा पनि सहकारी ठगी, नागढुंगा सहकारीबाट ५ करोड हिनामिना गरेर सञ्चालक फरार

कास्की– पर्वतको फलेवासस्थित नागढुंगा सहकारीबाट रकम हिनामिना गरेर सञ्चालक फरार भएका छन् । विज्ञ समूहले गरेको अध्ययन अनुसार सहकारीमा बचतकर्ताले जम्मा गरेको ४ करोड ८० लाख हिनामिना भएको हो ।

सहकारी रजिस्ट्रारको कार्यालयले वित्तीय विश्लेषण गरी हिनामिना भएको रकम १ वर्षभित्र मिलाउन समय दिएको थियो । तर, सञ्चालक समिति र व्यवस्थापक मिलेर अपचलन भएको रकम बचतकर्ताले फिर्ता पाउन सकेनन् ।

सहकारीको रकम फिर्ता गर्ने वाचा गरेका व्यवस्थापक अनिलबहादुर केसी २ महिना अगाडि नै फरार भएका छन् । यस्तै केही दिनअगाडिमात्रै सहकारीका अध्यक्ष गिरीनारायण श्रेष्ठ पनि फरार भएका छन् ।

कृत्रिम खातामार्फत कारोबार गर्ने, बचत र सेयर रकमको सफ्टवेटरमा हिसाबै नदेखाउने र व्यक्तिगत रुपमा खर्च गरेर गाउँलेको रकम हिनामिना गरेको आरोपमा प्रहरीले तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

अध्यक्ष गिरीनारायण, व्यवस्थापक अनिलबहादुर र कोषाध्यक्ष दीर्घनारायण शर्माविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । कोषाध्यक्ष दुर्गानारायण पक्राउ परेका छन् भने २ जना फरार छन् । सहकारी रजिस्टारको कार्यालय गण्डकीले गरेको छानबिन अनुसार उनीहरुसहित सहकारीको रकम हिनामिनामा १९ जना प्रतिवादी छन् ।

उक्त सहकारीमा गाउँले श्रमपसिना गरेर, बाख्रापाठा, अन्नपात बेचेर र विदेशमा कमाएको रकम बचत गर्ने गरेका थिए । शहरतिरका सहकारीमा रकम ठगी भएपनि गाउँकै व्यक्तिले गाउँमै खोलेको सहकारीबाट रकम अपचलन हुन्छ भनेर कल्पना पनि नगरेको त्यहाँका बचतकर्ताले बताएका छन् ।

२०६९ माघ ३ गते डिभिजन सहकारी कार्यालय, बागलुङमा दर्ता भइ सञ्चालमा आएको उक्त सहकारीमा साढे ६ सय हाराहारी बचतकर्ताले दुःख पसिना गरेर कमाएको रकम बचत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्