Logo

१२ लाख नेपालीले पत्याएको दलको शुभचिन्तक भेला भएर चिन्तन गर्नु सामान्य होः रास्वपा सांसद कार्की

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा चन्दा कार्की भण्डारीले संसद्को चौथो ठूलो दलको सभापति पक्राउ पर्दा जनता सडकमा आउनु स्वभाविक भएको बताएकी छन् ।

आज बसेको संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै भण्डारीले गत आम निर्वाचनमा १२ लाख मत ल्याएको र सदनको चौथो ठूलो दलको सभापति रवि लामिछाने पक्राउ पर्दा जनता सडकमा आउनु स्वभाविक रहेका हुँदा यसलाई सरकारले स्वभाविक रुपमा लिनुपर्ने बताईन् ।

प्रदर्शनलाई कतिपयले अदालत प्रभावित पार्ने प्रयास गरेको भनेर आलोचना गरेको भन्दै उनले त्यसको विरोध गरिन । सांसद कार्कीले गृहमन्त्री रमेश लेखकलाई लामिछानेलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न पनि ध्यानाकर्षण गराईन् ।

उनले भनिन्, ‘रवि लामिछाने यो समितिको सदस्य पनि हुनुहुन्छ। उहाँमाथि विश्वास गर्नेहरूले चासो र चिन्ता व्यक्त गर्नु स्वाभाविक नै हो। १२ लाख नेपालीले पत्याएको देशको चौथो ठूलो शक्तिको नेतृत्वलाई हिरासतमा राख्दा चिन्ताको विषय हो। उहाँ भागेर कतै जाने अवस्था होइन। म लामिछानेज्यूलाई थुनाबाहिर राखेर न्यायिक प्रक्रिया अगाडि बढाइदिन गृहमन्त्रीज्यूसँग आग्रह गर्दछु।’

सहकारी ठगीको आरोपमा पूर्व गृहमन्त्रीसमेत रहेका लामिछाने १२ दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिमलगायतका सहकारीबाट रकम लगेर गोर्खा मिडियामा खर्च गरेको उनीमाथि आरोप छ । यता रास्वपाका नेता तथा कार्यकर्ताले भने रविलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको दाबी गर्दै सडक तताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्