साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालले एक घण्टाभन्दा बढी खेल रोकेको भन्दै भारतले उजुरी गर्ने


काठमाडौं– साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भारतबीच भएको खेलमा नेपालले लामो समयसम्म खेल रोकेको भन्दै भारतीय फुटबल संघ (एआईएफएफ)ले उजुरी गर्ने भएको छ । नेपालले एक घण्टाभन्दा बढी समय खेल रोकेको भन्दै उजुरी गर्ने भएको छ ।

खेल भएको भोलिपल्ट एआईएफएफले साफमा उजुरी गर्ने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

आइतबार राती भएको खेलको ७१औं मिनेटमा संगीता बासफोरेले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । उक्त गोललाई भारतले निकै सेलेब्रेट गरिरहेको थियो । मैदानका खेलाडी बेन्चका खेलाडी र कोचिङ स्टाफहरू सबैले मैदानको साइडमा खुशी मनाइरहेका थिए ।

भारतले खुसी मनाइरहेका बेला रेफ्रीले सिठी फुकेपछि नेपालले सेन्टरबाट बल चलायो । सावित्रा भण्डारीले चलाउँदै दिएको पासमा प्रीति राईले ७२औं मिनेटमा नेपालका लागि बराबरी गोल फर्काइन् । भारतका केही खेलाडी बल बचाउन गर्न पनि गएका थिए तर धेरै जसो भने खुशीमै रमाइरहेका थिए ।

रेफ्रीले बल चलाउन दिइसकेको सुरुमा नेपालको गोलले मान्यता पनि पाएको थियो । नेपालले बराबरी गोल फर्काएपछि नेपाली खेलाडी र दर्शकहरु गोलको खुशी मनाउन थालिसकेका थिए । तर, स्कोर बोर्डमा नेपालको गोल देखाइएन ।

नेपालले गरेको गोलले मान्यता नपाएपछि नेपाली खेलाडी कोचिङ स्टाफ सबै जना त्यसको प्रतिवादम उत्रन थाले । नेपालको गोलले मान्यता नपाएपछि नेपाली खेलाडीले फेरि सेन्टरबाट बल चलाए । ७३ मिनेट र केही सेकेण्डको खेल चलिरहेको बेला दर्शकले रेफ्रीलाई लक्षित गर्दै बोतल हान्न थाले ।

त्यसपछि बनेको तनावपूर्ण स्थितिमा एक घण्टाभन्दा बढी समयसम्म खेल रोकियो । यसबीचमा नेपाली खेलाडी, कोचिङ स्टाफ, व्यवस्थापक, म्याच कमिसनर, रेफ्री एसेसर, रेफ्री, असिस्ट्यान्ट रेफ्रीहरुबीच लामो छलफल भइरहेको थियो ।

लामो बहसपछि खेल फेरि सुरु भयो । खेल फेरि सुरु हुँदा ६४औं मिनेट देखि सुरु भएको थियो । खेल सुरु भएलगत्तै नेपाली गोल मेसिस साम्बाले बराबरी गोल फर्काइन् । प्रीति राईले उपलब्ध गराएको पासमा साम्बाले सानदार गोल गरिन् । लगत्तै उनले जर्सी नै फुकालेर सानदार सेलेब्रेसन पनि गरिन् ।

निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा नेपालले ४–२ ले जीत निकाल्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको थियो ।