बाख्राको मासुलाई खसीको भन्दै झुक्याउनेलाई पाँच हजार रुपैयाँ जरिवाना


काठमाडौं– चाडपर्वको माहोलसँगै बजारमा कालोबजारी समेत मौलाउने गरेको छ । अन्य समयको बेला भन्दा चाडपर्वको समयमा बजार चलायमान हुने भएकाले अखाद्य वस्तु तथा महँगी बढ्ने गरेका छन् ।
यस क्रमलाई रोक्नका लागि जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरु बजार अनुगमन र कारबाही समेत गरिरहेका छन् । यसैक्रममा सिरहास्थित लहान नगरपालिकाले बजार अनुगमनलाई तीब्र बनाएको छ ।

यसक्रममा सोमबार उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा बजार अनुगमन गर्ने क्रममा खसीको भनेर बाख्राको मासु बेचिरहेको भएको भेटिएको थियो । सोपछि बाख्राको मासुलाई खसी भन्दै बेच्ने पसलेलाई पाँच हजार रुपैयाँ जरिवाना गरिइएको छ ।

यसैगरी ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खानेतेल गुणस्तरहीन प्रयोग गरेको भेटिएको उपप्रमुख महतोले जनाएका छन् । सोपछि अखाद्य सामान बेचिएको भन्दै उक्त वर्गर हाउसलाई ११ हजार जरिवान गरिएको थियो । अनुगमन टोलीमा इलाका प्रशासन, घरेलु, प्रहरी, पत्रकारलगायतको सहभागिता थियो ।

उपभोक्ताबाट बजारमा ठगी भइरहेको भन्ने गुनासोपछि बजार अनुगमन गरेको र अनुगमनलाई निरन्तरता दिने उपप्रमुख महतोले बताए । अनुगमनका क्रममा केही पसललाई भने सचेत गराइएको नगरपालिकाले जनाएको छ ।