बालुवाटारमा प्रदर्शन गरिरहेका रास्वपाका ३३ जना कार्यकर्ता पक्राउ, आधा घण्टामा नछोडे आन्दोलनले उग्र रुप लिने चेतावनी


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछाने पक्राउ परेको विराधेमा आज काठमाडौंको बालुवाटारमा प्रदर्शन गरिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार नजिकै प्रदर्शन गरिरहेको रास्वपाका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

बालुवाटारमा प्रदर्शन गर्दा निषेधित क्षेत्र तोड्न खाजेपछि प्रहरीले ३३ जना कार्यकर्तालाई पक्राउ गरेको छ । बालुवाटारमा प्रदर्शनका क्रममा वीरेन्द्र श्रेष्ठ, सांसद अशोक चौधरी, प्रदिप विष्ट, सुरेश पोखरेल, ध्रुब ढकाल ,नवराज भण्डारी, प्रकाश लामिछाने, रक्षा रायमाझी, साहिल प्रिया, सवी खड्का, बुद्धरत्न महर्जन पक्राउ परेका हुन्।

यस्तै दयाराम नेपाल, सुरेन्द्रराज अवाले, शैलेन्द्र खत्री, उमेश लामा, खुसिराम कैनी नवराज मुडबरीलाई पक्राउ गरिएको रास्वपाले जानकारी दिएको छ।

रास्वपाको प्रदर्शनका कारण यस क्षेत्रको यातायात प्रभावित भएको छ। प्रहरीले सडक खाली गराएर रास्वपाको प्रदर्शन रोक्ने प्रयास गरिरहेको छ।

निषेधित क्षेत्रमा प्रवेश नगर्न भन्दै प्रहरीले माइकिङ पनि गरिरहेको छ। निषेधित क्षेत्रमा प्रवेश गरे बल प्रयोग गर्ने चेतावनीसमेत प्रहरीले दिएको छ। यसैबीच रास्वपाले पक्राउ परेका नेताहरु ३० मिनेटभित्र नछुटे आन्दोलनले उग्र रुप लिने चेतावनी दिएको छ । सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी सांसद हरि ढकालले भने‚‘आधा घण्टाको बिचमा प्रहरीले हाम्रा साथीहरू छुटाएनन् भने हाम्रो आजको आन्दोलन सशक्त पार्छौँ।’

सभापति रवि लामिछानेलाई सहकारी ठगी र सङ्गठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले दैनिक रुपमा विरोध प्रदर्शन गर्दै आएको छ ।

आन्दोलनको नेतृत्वको उपसभापति स्वर्णिम वाग्ले र डिपी अर्यालले गरेका छन् । यसअघि रास्वपाले तिहार भित्रिएसँगै आजबाट देशव्यापी रुपमा आन्दोलनबाट ब्याक हुने जनाएको थियो ।

रास्वपाले पोखराबाट आन्दोलनलाई काठमाडौं केन्द्रीत गरिरहेको छ। सहकारी ठगी र संगठित अपराधको आरोपमा पक्राउ परेका लामिछानेविरूद्ध सम्पत्ती शुद्धीकरणको मुद्दा पनि चलाइने भएको छ।

लामिछानेविरूद्ध रूपन्देही जिल्ला अदालतले पनि पक्राउ पुर्जी जारी गरेको छ। उनलाई बुटवल, पर्सा, वीरगन्ज र चितवनपछि काठमाडौं ल्याउने तयारी भएको छ।