नेपालले उपाधि चुन्नमा बंगलादेशका यी दुई खेलाडी बन्न सक्छन् बाधक


काठमाडौं– आज नेपाली फुटबल समर्थकको लागि विशेष दिन हो । नेपाली महिला फुटबल टिमले पहिलोपटक अन्तराष्ट्रिय संस्करणको उपाधि जित्नसक्ने खेल आफ्नै घरेलु मैदानमा दर्शकहरुले हेर्ने मौका पाएका छन् ।

अन्तर्राष्ट्रिय फुटबल संस्करणको १२ ओटा खेलमा फाइनलसम्मको यात्रा तय गरेर पनि हरेक पटक उपविजेता बनेको नेपाली टोली बंगलादेशलाई हराएर उपाधि जित्नको लागि आज पुन एकपटक मैदान पस्दैछ । यस्तै साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणसम्म आइपुग्दा नेपाल छैठौँ पटक फाइनलमा पुगेको हो । जसमध्ये ४ पटक भारत र एक पटक बंगलादेशसँग पराजित हुँदै नेपालले उपाधि हात पार्नबाट चुकेको छ ।

पछिल्लो समय २५ महिना अगाडि दशरथ रंगशालामै छैठौँ साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेशको टीम भीडेका थिए । तर उक्त खेलमा नेपालले ३–१ ले हार्दा साफ महिला च्याम्पियनसिपको ताज बंगलादेशले पहिरियो ।

आज २५ महिनापछि फेरी यो दुई टोली साफ महिला च्याम्पिएनसिपको उपाधिका लागि साँझ ६ः३० बजे दशरथ रंगशालामा भिड्दैछन् ।

यसअघि मंगलबार भएको पत्रकार सम्मेलनमा नेपालकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले यसपटक जसरी पनि जित्नुपर्ने बताएकी थिइन् । उनले भनिन्, ‘हाम्रो टिम बण्डिङ राम्रो छ । भोलि जित्नुपर्छ, अहिले जितेनौं भने अर्को टिम बन्न ५–१० वर्ष पर्खनुपर्छ’, मंगलबार आयोजित पत्रकार सम्मेलनमा कप्तान एन्जिलाले भनिन्, ‘हामी गर्छौं हामी जित्छौं भन्ने हाम्रो नारा छ ।’

आइतबार भएको भारत र नेपालबीचको सेमिफाइन खेल हेरेपछि दर्शकहरुले पनि यसपाली जसरी भएपनि नेपालले उपाधि उचाल्नुपर्ने प्रतिक्रिया दिएका छन् । तर नेपाल र बंगलादेशबिच हुने खेलमा नेपाललाई जीत निकाल्न भने त्यती सजिलो पक्कै हुनेछैन । अघिल्लो संस्करणको साफ च्याम्पियनसीपमा नेपाल विरुद्ध गोल बनाउने दुई खेलाडी पनि टिममै छन् । जो नेपालका लागि चुनौती खडा गर्न सक्नेछन् । उनीहरू हुन्, सविना खातुन र ताहुरा खातुन ।

अघिल्लो संस्करणमा नेपालविरुद्ध २ गोल गर्ने सविना खातुन प्रतियोगिताको उत्कृष्ट खेलाडी र सबैभन्दा धेरै गोलकर्ता बनेकी थिइन् । सन् २०१५ बाट बंगलादेशको कप्तानी गरेकी सविनाले बंगलादेशी तथा भारतीय क्लबहरूको अनुभव लिएकी छन् । विद्यार्थीकालबाटै खेल क्षेत्रमा जोडिएकी उनी बंगलादेशको पुरुष तथा महिला दुवैतर्फकी सबैभन्दा धेरै गोल गर्ने खेलाडी पनि हुन् ।

यस्तै अघिल्लो संस्करणको फाइनलमा अर्को गोल गर्ने खेलाडी हुन्, ताहुरा खातुन । यो संस्करणमा समूह चरणमा भारतविरुद्ध उनले २ गोल गरेकी थिइन् । उनको दुई गोलसहित बंगलादेशदे ३–१ ले भारतलाई समुहचरणमा पराजित गरेको थियो । यस्तै सेमिफाइनलमा भुटानसँगको बंगलाखेशले ७–१ को जित निकाल्दा ताहुराले ह्याट्रिक गर्न सफल भएकी थिइन् । बङ्गलादेशकी धेरै गोल गर्ने खेलाडीमा ताहुरापनि एक हुन् ।