काठमाडौं– केही समयपछि सुरु हुने साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल हेर्न दर्शकहरु दशरथ रंगशालामा प्रवेश गर्न थालेका छन् ।
बुधबार बेलुका साढे ६ बजे सुरु हुने नेपाल र बंगलादेशबीचको खेल हेर्न दर्शकहरु त्रिपुरेश्वरस्थित रंगशाला पुग्न थालेका हुन् । रंगशाला पुगेका दर्शकहरुले
नेपाली राष्ट्रिय झण्डा बोकेका छन् भने कतिपयले अनुहारमा राष्ट्रिय झण्डाको चित्रसमेत बनाएका छन् ।
यसअघि आइतबार भएको नेपाल र भारतबीचको सेमिफाइनल खेलमा क्षमता भन्दा बढी दर्शक भएको भन्दै आजको खेलका लागि जम्मा ११ हजार टिकट मात्र बिक्री गरिएको छ । धेरै दर्शकले टिकट नपाएको भन्दै दुखेसो समेत पोखेका छन् ।
यस्तै सुरक्षालाई दृष्टिगत गर्दै नेपाल प्रहरीले रंगशालाभित्र कुकुरको सहायताबाट समेत चेकजाँच गरिरहेको छ । फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि जाने भएकाले सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।
प्रतिक्रिया