खेल सक्किएको भोलीपल्टै सावित्रा भण्डारी फर्किइन् फ्रान्स
काठमाडौं– साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनल खेल सकिएलगत्तै नेपाली राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) फ्रान्स फर्किएकी छिन्।
काठमाडौंका त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनल खेल खेलेर उनी बिहीबार बिहानै फ्रान्सतर्फ लागेकी हुन् ।
बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित हुँदै साफमा छैटौंपटक उपविजेता बनेको थियो । फ्रान्सको शीर्ष श्रेणीको महिला फुटबल लिग ‘प्रिमियरा लिग’ मा इए अभान्ट गुएग्यापबाट खेलिरहेकी सावित्रा राष्ट्रिय टिमबाट साफ च्याम्पियनसिप खेल्ने नेपाल आएकी थिइन् । उनी फ्रान्स पुगे लगत्तै क्लबमा सामेल हुनेछिन् । उनको क्लब गुएग्याम्पले आउने शनाबर लिगमा मोन्टपिलरसँग खेल्दैछ । उनी नेपाल आउनुअघि स्ट्रासवर्गलाई हराउँदै गुएग्याम्पले लिगमा पहिलो जित हात पारेको थियो ।
उनले समूह चरणमा एक खेल, सेमिफाइनल र फाइनल गरी कुल तीन खेल खेलिन् । जसमा दुई गोल गरेकी थिइन् । उनले श्रीलंकासँग भएको समुह चरणको खेलमा एक गोल गरेकी थिइन् । उक्त खेलमा नेपाल ६–० ले बिजयी भएको थियो ।
यस्तै सेमिफाइनलमा भारतविरुद्धको खेलमा नेपाल एक गोलले पछि परेको स्थितिमा सावित्राले बराबरी गोल फर्काउँदै खेललाई पेनाल्टीसुटआउटसम्म पुर्याएकी थिइन् । उनले सुटआउटमा गोल पनि गरिन् । नेपालले पेनाल्टीसुटआउटमा भारतलाई ४–२ ले हराएर फाइनल पुगेको थियो ।