काठमाडौं– अमेरिकामा भएको पछिल्लो राजनीतिक घाटनाक्रमको प्रभाव सुनको बजारमा देखिएको छ । बिहीबार नेपाली बजारमा एकैदिन सुनको भाउ प्रतितोला ४ हजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २०१५ रुपैयाँ रहेको चाँदी यस दिन १९६० मा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी मूल्यमा उच्च गिरावट आएसँगै यसको प्रभाव नेपालमा समेत देखिएको हो । अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा सुनचाँदीको मूल्य दैनिक समायोजन हुँदै आएको छ ।
अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रप निर्वाचित भएसँगै डलर मजबुत हुँदा सुनचाँदीको मूल्यमा उच्च गिरावट देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पको उदयले मुद्रास्फिति बढ्न सक्ने अनुमान गरिएको छ । मुद्रास्फिति दवावमा रहँदा केन्द्रीय बैंक फेडले लिएको ब्याजदर कटौतीको नीतिमा पनि प्रभाव पर्न सक्नेछ ।
अमेरिकामा ब्याजदर घट्दै जाने अनुमानले सुनमा लगानी आकर्षित भएको थियो, तर अबमा दिनमा मुद्रास्फिति बढ्न गएमा ब्याजदर घट्ने सम्भावना कमजोर हुनेछ । यसले गर्दा सुनको मूल्यमा प्रभाव परेको रोयटर्सले उल्लेख गरेको छ । अर्कोतर्फ डलर मजबुत भएको छ । डलरको भाउसँग सुन र कच्चा तेलको मूल्य ट्रेन्ड प्रायः विपरित रहने गरेको छ ।
प्रतिक्रिया