काठमाडौं– नायिका निता ढुङ्गानाले निर्माण गरेको बहुप्रतिक्षित चलचित्र ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट २८ सेकेन्ड लामो उक्त ट्रेलरलाई निर्माण पक्षले बुधबार सार्वजनिक गरेको हो ।
दक्षिण भारतीय कलाकारका साथै नेपालका कयौँ स्टार कलाकार भएको यस चलचित्रको ट्रेलरलाई राम्रो साथ समेत मिलिरहेको छ । ट्रेलर सार्वजनिक भएको १७ घण्टामा नै ट्रेन्डिङको शीर्ष तीन स्थानमा उक्लिएको छ ।
सार्वजनिक ट्रेलर देवधाममा राज गरेका बसेका महामन्थ (प्रदीप रावत) को क्यारेक्टर परिचयसँगै सुरु भएको छ । ट्रेलरलाई सरोज खनालले न्यारेटर गरेका छन् । ट्रेलरमा हरि (हरिहर अधिकारी) र नारायणी (नीता ढुङ्गाना) को जोडीले प्रेम सम्बन्धको रक्षाको लागि गर्ने संघर्षको कथावस्तु वरपर फिल्म घुमेको देखाइएको छ । साउन्ड, एक्सन र संवादको हाई क्वालिटीका कारण यसको ट्रेलरलाई दर्शकहरुले समेत रुचाएका छन् ।
फिल्ममा ब्रम्हनन्दम, विपना थापा, सुनिल बर्मा, मोहम्मद अली, कुबीर दुहान, रेखा थापा, आदर्श मिश्रा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, संचिता लुइँटेल, अग्रिम पण्डित, निर्मल शर्मा, बुद्धि तामाङ, रविन्द्र झालाई पनि ट्रेलरमा देख्न सकिन्छ । नायिका रेखा थापा माताको भूमिकामा देखिएकी छन् । ट्रेलरमा एक्सन दृश्य पनि समेटिएको छ ।
‘ह्रस्व दीर्घ’लाई चन्द्र पन्तले निर्देशन गरेका छन् । नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।
अभिनेत्री निता ढुंगानाको लगानीमा निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय बस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्ज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।
कात्तिक ३० गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा अन्त देशहरुमा पनि रिलिज हुनेछ । यो फिल्म १४ जापानी सहरमा ७ डिसेम्बरदेखि रिलिज हुँदैछ ।
प्रतिक्रिया