काठमाडौं– डोटीमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएको छ। बायाँ हात भाँच्चिएर घाइते भएकी बालिकाको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दिपायल सिलगढी नगरपालिका–३, दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा बुधबार राति करिब ८ बजे शल्यक्रिया गर्नका लागि सुइमार्फत एनेस्थेसिया दिइएको थियो । तर बालिका उक्त सुईपछि होसमा आइनन् । बेहोस पार्ने क्रममा दिइएको औषधिको असरले मृत्यु भएको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रमुख एसपी विनोद शर्माले जनाएका छन् ।
उता बालिकाको होश नआएपछि स्थानीय बासिन्दा र मृतकका आफन्तले चिकित्सकले लापरबाही गरेर उपचार गरेको भन्दै अस्पतालमा तोडफोड मच्चाएका थिए । सोपछि प्रहरीले उपचारमा संलग्न तीन जना चिकित्सकलाई नियन्त्रणमा लिएको छ ।प्रहरीले चिकित्सकहरु डा. राजमणि यादव, डा. सुरेन्द्रकुमार चौधरी र डा. अभिषेक यादवलाई नियन्त्रणमा लिएको हो । अस्पतालमा थप क्षति हुन नदिन तथा घटनाको अनुसन्धानका लागि प्रहरीले उपचारमा संलग्न चिकित्सकलाई नियन्त्रणमा लिएको जनाएको छ । उपचारमा संलग्न चिकित्सकको मेडिकल चेकजाँच गर्दा कुनै समस्या नदेखिएको प्रहरीले जनाएको छ ।
उता आफन्तले भने चिकित्सकको लापबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै अस्पतालबाट शब उठाउन मानेका छैनन् ।
प्रतिक्रिया