एजेन्सी- मानिसहरुको धर्मकर्मप्रति विश्वास निकै गहिरो रहने गर्दछ । यहि विश्वासलाई लिएर भारतको वृन्दावनको मन्दिरमा रोचक घटना घटेको छ । श्री बाँके बिहारी मन्दिरको भित्तामा रहेको हात्तीको मूर्तिबाट झरिरहेको पानी पिउन श्रद्धालुहरू लाइन लाग्ने गर्थे । उक्त हात्तीको मूर्तिबाट झर्ने पानी भगवान् श्रीकृष्णको पाउबाट आएको उनीहरूको विश्वास थियो ।
तर, उक्त मन्दिरमा भगवान् श्रीकृष्णको पाउबाट आएको विश्वासको राज भने अर्कै रहेको खुलेको छ । उक्त पानी एयर कन्डिसनिङबाट झरिरहेको पानी भएको खुलासा भएको हो । उक्त घटनाले मानिसको श्रद्धा र आलोचनात्मक सोच वा सामान्य ज्ञानबिचको फरकको बहस पनि सिर्जना गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार भक्चालुहरुले उक्त पानीलाई ‘चरणामृत’ (श्रीकृष्णको पाउबाट आएको पवित्र जल) ठानेका थिए । तर भक्तालुले उक्त पानी पिउन थालेपछि मन्दिरका अधिकारीहरूले सो पानी पिउन बन्द गराउनका लागि सूचना नै जारी गर्नुपरेको थियो ।
‘हामी उहाँहरूको श्रद्धालाई सम्मान गर्छौँ । तर, यसबारे जानकारी दिन आवश्यक थियो,’ मन्दिरमा सेवक रहेका दिनेश गोस्वामीले भने, ‘त्यो चरणामृत नभएर एसीको पानी मात्र थियो । यदि त्यो वास्तवमै चरणामृत हुन्थ्यो भने त्यसमा तुलसी र गुलाफको पत्ता पनि हुन्थ्यो ।’
एसीको पानी पिउनु हानिकारक नलागे पनि विज्ञहरूले त्यहाँ विभिन्न प्रकारको ब्याक्टेरिया र फंगी हुने भएकाले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया