Logo

चितवनमा बस र हायस ठोक्किँदा चार जनाको मृत्यु

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा आज बिहान भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सत्रकिलो स्थित नारायणगढ मुग्लिन सडकमा करिब बिहान ३ बजे मुग्लिङबाट नारायणगढतर्फ आउदै गरेको बा.प्र. ०६–००१ज ०२९८ नं.को ईभि हाइस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नं. को बस एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिमालका अनुसार सो दुर्घटनामा परी मृत्यु हुनेमा हायसमा सवार यात्रुहरु रहेका छन् ।

हायसमा सवार गोर्खा आरुघाट गाँउपालिका वडा नम्बर १ मान्बु का ४० वर्षीय राजबहादुर गुरुङ, हाईसमा सवार नामथर वतन नखुलेकी करिब ४० बर्षकी महिला, हाईसमा सवार नामथर वतन नखुलेको करिब ३२ वर्षको पुरुष र हाईसमा सवार नामथर वतन नखुलेको करिव ३५ वर्षको पुरुषको मृत्यु भएको प्रनाउ रिमालले बताए। मृतक चारै जनाको टाउकोमा गम्भीर चोट लागेको छ । उनीहरुलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइए पनि चिकित्सकहरुले मृत घोषणा गरेका हुन् ।

यस्तै उक्त दुर्घटनामा परी घाइते भएका बसको सह चालक काठमाडौ महानगरपालिका वडा नम्बर ३२ का ३० वर्षीय भोज विक्रम शाहको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । यस्तै नाम थर नखुलेका एक पुरुषको गम्भीर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने यस्तै नाम थर नखुलेका ३८ वर्षीय पुरुष घाइतेको टाउकोमा गम्भीर चोट लागेको छ । बसमा सवार उदयपुर कटारी नगरपालिका वडा नम्बर ९ निमपाटा बस्ने वर्ष २४ का श्याम कुमार कार्कीको निधारमा चोट छ । बसमा सवार चितवन रत्ननगर नगरपालिका वडा नम्वर १३ प्रगती टोल बस्ने वर्ष १९ को मो. साकिर मिँयाको दाँया कानमा भित्री चोट छ । रत्ननगरकै वर्ष ३२ का साहेब मिँयाको दुबै खुट्टामा चोट छ ।

दुर्घटनाग्रस्त बस र हायस अहिले दुर्घटना स्थलमै छन् भने बसका चालक मकवानपुर हेटौडा उपमहानगर पालिका वडा नम्बर ९ बस्ने वर्ष ४४ का सुर्य विक्रम बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्