उपनिर्वाचनमा कीर्तिपुरबाट उठेका स्वतन्त्र मेयरलाई हर्क साम्पाङको साथ
काठमाडौं– मंसिर १६ मा हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुखको पदका लागि सरसफाइ अभियन्ता राजमान मानवले उम्मेदवारी घोषणा गरेका छन् ।
नेवाः लहना विश्व सरसफाइ अभियानका संस्थापक उनी कीर्तिपुर नगरपालिका वडा नम्बर १ का स्थानीय हुन् । विगतमा एमाले पृष्ठभूमिका मानव हाल कुनै दलमा आवद्ध छैनन् । सरसफाइ कार्यक्रम मार्फत कीर्तिपुरका सबै बासिन्दाले आफूलाई चिनेको उनले दाबी गरेका छन् ।
उनलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले समेत समर्थन गरेका छन् । कीर्तिपुरलाई पार्टीको गढबाट जनताको गढ बनाउन मेयरको उम्मेदवार बन्न लागेको विचार उनले राखेका छन् । सबै दलहरु मिलेर आएपनि पराजित गर्ने उनको दाबी छ ।
गत निर्वाचनमा कीर्तिपुरको मेयर पद कांग्रेसले जितेको थियो । कांग्रेसबाट निर्वाचित मेयर राजकुमार नकर्मीको निधन भएकाले त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।
कीर्तिपुरको मेयरमा एमालेबाट डा सुरेन्द्र मानन्धर उम्मेदवार बनेका छन् । यस्तै माओवादी केन्द्रले प्रा.डा शिवशरण महर्जनलाई र राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवार बनाएका छन् । कांग्रेस, रास्वपा लगायत दलले भने उम्मेदवार चयन गरिसकेका छैनन् ।