म्याद थपका लागि आज रविलाई पुनः अदालतमा उपस्थित गराईँदै
काठमाडौं– पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले आज पुनः अदालत पेश गर्दैछ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनलाई आज चौँथोपटक अदालतमा उपस्थित गर्न लागिएको हो ।
जिल्ला अदालत कास्कीले रविमाथि अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई आज पुनः अदालतमा उपस्थित गराइँदैछ ।
यसअघि रविमाथि अनुसन्धान गर्न कात्तिक २० गते १० दिनको म्याद थपको अनुमति दिएको थियो । कात्तिक १५ गतेदेखि गणना हुने गरी अदालतले दिएको उक्त १० दिनको अनुमति आज सकिएसँगै उनलाई म्याद थपको लागि पुन अदालतमा उपस्थित गराईँदैछ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछाने कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए । उनलाई सोही राति पोखरा पुर्याएको थियो । लगत्तै शनिबार परेकाले उनलाई कात्तिक ४ गतेमात्रै अदालतमा म्याद थपकोे लागि अदालतमा उपस्थित गराइएको थियो ।
उता सभापति लामिछाने पक्राउ परेरपछि रास्वपाले सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाउँदै निरन्तर प्रदर्शन गर्दै आएको छ ।