काठमाडौं– लामो समयदेखि कक्षा ११ र १२ मा भर्ना भएपनि पढाई पूरा गर्न नसकेका विद्यार्थीहरुले एउटा अवसर पाउने भएका छन् । २५ वर्षअघि कक्षा ११ र १२ मा भर्ना भएका तर पढाइ पूरा गर्न नसकेका विद्यार्थीहरुका लागि राष्ट्रिय परिक्षा बोर्डले मौका परीक्षा दिन पाउने व्यवस्था मिलाएको छ ।
२०५६ सालयताका कक्षा ११ र १२ मा भर्ना भएका तर हालसम्म पास गर्न नसकेका परीक्षार्थीहरुका लागि बोर्डले मौका परीक्षा खुलाएको छ । यस परीक्षामा सहभागी हुन इच्छुकहरुलाई २०८१ मंसिर २७ गतेसम्म आफूले अध्ययन गरेको सम्बन्धित विद्यालयमार्फत परीक्षा फाराम भर्न सक्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
अङ्कन प्रणालीमा कुनै विषयमा अनुत्तीर्ण भएका, परीक्षामा अनुपस्थित भएका वा अक्षरांकन पद्दतिमा पुरानो ग्रेडिङ प्रणालीअनुसार डी र ई ग्रेड प्राप्त गरेकाहरुले मौका परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए । जति विषयमा फेल भएका विद्यार्थीहरुले पनि मौका परीक्षा दिन पाउँछने जनाइएको छ । यस्तै, प्रयोगात्मक विषय मात्र बाँकी रहेका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने भएका छन् ।
कक्षा १२ का लागि रजिष्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम भएकाले मौका परीक्षाको फारम भर्न पाउँने जनाइएको छ । . यसैगरी कक्षा ११ का लागि रजिष्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएकाहरुले अन्तिम एक पटकका लागि मौका परीक्षा दिन पाउँछन् ।
विभिन्न कारणले कक्षा ११ र १२ उत्तिर्ण गर्न नसकेका करिब १४ लाख विद्यार्थी रहेको अनुमान परिक्षा बोर्डले गरेको छ । पुराना विद्यार्थीहरुको परीक्षा पुरानै पाठ्यक्रम अनुसार हुने तथा आवेदन फारम प्राप्त भइसकेपछि मौका परीक्षाको तालिका सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
प्रतिक्रिया