काठमाडौं– माता पिता बन्नु हरेक दम्पत्तीको लागि खुसीको पल हुन्छ । तर चीनको सांघाईमा सन्तानको जन्म नै दम्पत्तीको लागि सबैभन्दा दुःखको कारण बन्न पुगेको छ ।
नवजात शिशुको छालाको रङका कारण त्यो दम्पत्तीको वैवाहिक सम्बन्धनै धरापमा पुगेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार सांघाईकी ३० वर्षीया महिलाले सी–सेक्सनबाट छोरालाई जन्म दिएकी थिइन् । तर छोराको छालाको रङ बुबा आमाको भन्दा भिन्न कालो रङ भएपछि उनीमा तनाव बढ्न थाल्यो ।
ती महिलाको पतिले छोरा आफ्नो भए नभएको जाँच गर्न पितृत्व परीक्षणको माग गरेका छन् । बच्चाको कारण उनको वैवाहिक सम्बन्ध नै धरापमा परेको छ । ती महिलाले छोराको जन्म भएपछि श्रीमानले पहिलोपटक छोराको छालाको रङ देखेर स्तब्ध बनेको बताएकी छिन् । श्रीमानले छोरालाई आफ्नो भनेर सहजै स्विकार गर्न नमानेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो व्यथा साझा गरेकी थिइन् । यस्तो अवस्थामा के गर्ने भन्दै उनले सुझावसमेत मागेकी छन् ।
ती महिलाले श्रीमानले पितृत्व परीक्षणको माग गरेको र यसको लागि आफूपनि तयार रहेको बताएकी छिन् । आफू कुनै कालो वर्णको पुरुषसँग सम्बन्धमा नरहेको समेत उनले प्रष्ट पारेकी छिन् । तर पतिले आफ्नो विश्वास नगरेकाले दुईबिचको भरोसा टुटेको भन्दै उनी दुःखी छन् ।
महिलाले आफ्नो कथा वेबोमा शेयर गरेपछि यतिबेला उनको पोष्ट भाइरल नै बनेको छ । कतिपयले नवजात शिशुको छालामा समस्या देखिनु सामान्य भएको र पछि ठिक हुने उल्लेख गरेका छन् ।
‘नवजात शिशुको छाला पातलो हुने र उनीहरूको रगतको बहाव पनि कमजोर हुने हुँदा कहिलेकाहीँ यस्तो हुन्छ,’ आफूलाई विज्ञ बताउने एक जनाले लेखेका छन्, ‘कालो रातो छाला बिस्तारै गोरो हुँदै जान्छ ।’
कतिपयले भने महिलाको श्रीमानको व्यवहार प्रति प्रश्न उठाएका छन् । आफ्नै श्रीमतीलाई शङ्का गरेको भन्दै आक्रोश व्यक्त गर्ने पनि धेरै रहेका छन् । केहीले पितृत्व परीक्षणपछि पतिसँग यस विषयमा छलफल गर्न महिलालाई सुझाव दिएका छन् ।
प्रतिक्रिया