सिंहदरबारभित्रै कर्मचारीहरूले थाले विरोध प्रदर्शन
काठमाडौं– नेपाल विविध सेवाका प्राविधिक कर्मचारीलाई स्वतः बढुवा गरी समायोजन गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध सिंहदरबारभित्रै कर्मचारीहरूले प्रदर्शन थालेका छन् ।
अदालतको आदेशबाट प्रशासन सेवाका समग्र पदहरूमा बढुवाको अवसर खोसिन सक्ने भन्दै कर्मचारीरूले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडी विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले प्रतिस्पर्धाका आधारमा सेवा क्षेत्रमा प्रवेश गरेका र वृत्ति विकासको चरणमा रहेका कर्मचारीहरूको न्यायोचित बढुवामा अवरोध पुराउनसक्ने भन्दै मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।
कर्मचारीले सरकारलाई सर्वोच्चको आदेश कार्यान्वयन नगर्न र फैसलाउपर रिट आदेशको पुनरावलोकनमा जान समेत माग गरेका छन् । निजामती सेवा ऐन र नियमावलीको मर्मअनुसार प्रतिस्पर्धात्मक र न्यायोचित वृत्ति विकास सुनिश्चित गर्न समेत उनीहरुले आग्रह गरेका छन् ।