रविलाई थप १३ दिन थुनामा राख्द अदालतले दियो अनुमति


फाइल तस्बिर

पोखरा– सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका पुर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि चौथो पटक म्याद थप भएको छ ।

उनीमाथी थप अनुसन्धनका लागि जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो ।

कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको केन्द्रीय पार्टी कार्यालयबाट पक्राउ परेका रवि लामिछानेलाई पहिलोपटक कात्तिक ४ गते जिल्ला अदालतले ५ दिनको म्याद थप गरेको थियो । दोस्रोपटक अदालतले थप ७ दिन म्याद थप गरेको थियो ।

पुनः तेस्रो पटक कात्तिक २० गते अदालतले १० दिनको म्याद थप गरेको थियो । उक्त म्याद पनि आइतबार सकिएपछि रविलाई आज म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो। लामिछानेसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्वडीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि म्याद थपको लागि अदालतमा उपस्थित गराइएको थियो । उनीहरुविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको समेत मुद्दामा अनुसन्धान भइरहेको छ ।