विद्युत लाइन सुचारु नभएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्न सरकारको निर्देशन
काठमाडौं– सरकारले विद्युत लाइन सुचारु नभएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्न निर्देशन दिएको छ । आइतबार बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
उद्योगमा विद्युत आपूर्ति बन्द हुँदा उत्पादन घट्न गएको, राजश्व संकलनमा असर पुगेको, रोजगारीमा प्रभाव परेको र यसबाट अर्थतन्त्रमा प्रत्यक्ष असर परेको हुँदा विद्युत लाइन सुचारु नभएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्ने व्यवस्था गर्न उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई सरकारले निर्देशन दिएको छ ।
त्यस्तै १५ दिनभित्र उद्योगहरुले खपथ गरेको विद्युतको वक्यौता रकम बिलअनुसार असुल उपर गर्न पनि निर्देशन दिएको छ ।
बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश दिनेशचन्द्र लालको संयोजकत्वमा डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपभोग गर्ने ग्राहकहरुको विद्युत महशुलसम्बन्धी विवाद समाधानको लागि गठित जाँचबुझ आयोगले मिति २०८१ वैशाख २३ मा पेश गरेको प्रतिवेदन सार्वजनिक गर्न उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।