काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको उपनिर्वाचन एक्लै लड्ने निर्णय गरेको छ । प्रचण्ड निवास खुमलटारमा आज बसेको पार्टी पदाधिकारी बैठकले उपनिर्वाचनमा अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको हो ।
पार्टी सचिव दीनानाथ शर्माका अनुसार आवश्यकता अनुसार स्थानीय तहका केही स्थानमा भने सत्तामा रहेका दलसँग तालमेल गर्न सकिने ढोका खुलै राखेर सकेसम्म सरकारमा सहभागी दलसँग तालमेल गर्ने निर्णय गरिएको हो । माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी) लगायत दलसँग सहकार्य गर्ने नीति लिएको छ ।
बैठकले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि सिफारिस भइ आएका उम्मेदबारको नाम अनुमोदन गरेको छ भने तल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन गरेको छ । उपनिर्वाचन यही मंसिर १६ गते ४४ पदमा हुँदैछ ।
उपनिर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई जिताउनका लागि एकतावद्ध भएर पहल कदमीका लागि नेता तथा कार्यकर्ताहरूलाई अपिल गर्ने, पार्टीको अघिल्लो निर्णयअनुसार आगामी मंसिरमा पालिका सम्मेलन र खबरदारी कार्यक्रम गर्ने लगायतका समेत आजको बैठकले निर्णय गरेको छ ।
प्रतिक्रिया