कात्तिक २९ र ३० मा हेटौँडामा हस्तकला सामग्रीहरुको प्रदर्शनी मेला आयोजना गरिँदै


काठमाडौं– मकवानपुरमा हस्तकला सामग्रीहरुको प्रदर्शनी मेलाको आयोजना हुने भएको छ । एलोई प्राइभेट लिमिटेड र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडिपी) ले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

“स्थानिय उत्पादन प्रोत्साहन तथा दिगो समृद्धि प्रवर्धनः सामुदायिक वन उपभोक्ता समूह र साना तथा मझौला उद्योग बजार प्रदर्शनी मेला” कार्यक्रम सञ्चालन गर्न लागिएको हो । स्थानिय उत्पादन प्रोत्साहन तथा दिगो समृद्धि प्रवर्धनका लागि उक्त प्रदर्शनी मेला गर्न लागेको आयोजक संस्था एलाई प्राइभेट लिमिटेडले जनाएको छ ।

यस कार्यक्रमलाई प्राकृतिक स्रोत महिला अधिकार संजाल, जिल्ला वन कार्यालय, हेटौडा उप–महानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघले पनि सहयोग गरेको छ ।

मेलामा हस्तकला सामग्री, स्थानीय उत्पादन, खाद्य स्टल र विभिन्न कृषि सम्बन्धी उत्पादनहरू राखिने छ । हेटौँडास्थित पल्पसा मलमा कात्तिक २९ र ३० गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उक्त मेला लाग्ने संस्थाले जानकारी दिएको छ ।