काठमाडौं– ‘रजतपट अंकल’ नामबाट चर्चित टेलिभिजन प्रस्तोता प्रकाश सुवेदीलाई लगातार ज्यान मार्ने धम्की आएपछि प्रहरीकोमा पुगेका छन् । अपरिचित नम्बरबाट केही दिन यता लगातार ज्यान मार्ने धम्की आएपछि सुवेदीले नेपाल प्रहरीलाई यस विषयमा उजुरी दिएका हुन् ।
प्राइभेट नम्बरबाट ४–५ दिनदेखि फोन आएर ज्यान मार्ने धम्की दिएको उनले बताएका छन् । फोनमा आफूलाई मार्न दुई करोड रुपैयाँको सुपारी लिएको भन्दै धम्की आउने गरेको उनले बताएका छन् । फोनमा ‘तेरो परिवार को–को कहाँ छ मलाई सबै थाहा छ,’ भन्दै धम्की आउने गरेको सुवेदीले बताए ।
भाइटिकाको अघिल्लो दिन बिहान ५ बजे उनलाई पहिलो पटक फोन आएको थियो । उक्त फोनमा दुई करोडको सुपारी लिएको भन्दै धम्की आएको र दुई दिनपछि कल गर्ने भन्दै फोन काटिएको थिए । फोनमा धम्की दिने व्यक्तिले तोकेकै समयमा दुई दिनपछि अर्को कल पनि गरेको उनले बताए । तर आफूलाई मार्न कसले दुई करोडको सुपारी दिनसक्छ भन्ने विषयमा जानकारी नभएको उनले बताएका छन् । उनले आफू चलचित्र पत्रकार भएको र विभिन्न विवादमा पर्ने गरेपनि त्यस्तो विवाद लामो समयसम्म नरहने उनले बताए । उनले भने, ‘ फिल्म क्षेत्रकै साथीहरूले सुपारी दिए जस्तो लाग्दैन । दुई करोडमा त फिल्म नै बन्छ । फेरि म व्यापारी पनि होइन, मलाई मारेर केही हासिल हुँदैन ।’
प्रतिक्रिया