भाटभटेनीका मालिकले एमालेलाई दिएको दाने जग्गासम्बन्धी मुद्दा ‘हेर्न नमिल्ने’मा


काठमाडौं– नेकपा (एमाले) लाई व्यवसायी मिनबहादुर गुरुङले दिएको दाने जग्गाविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट हेर्न नमिल्नेमा परेको छ । सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र नित्यान्द पाण्डेयको इजलासमा पेशी तोकिएको उक्त मुद्दा हेर्न नमिल्नेमा परेको हो ।

व्यवसायी गुरुङले एमालेलाई दान दिएको १० रोपनी १४ आना जग्गाविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले सर्वोच्चमा रिट दायर गरेका थिए । सुरुमा सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको उक्त रिट पछि इजलासले दर्ता गर्न आदेश दिएको थियो । सर्वोच्चले सो रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेशसमेत जारी गरिसकेको छ । उक्त आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने छलफलका लागि आज पेशी तोकिएको थियो ।

अधिवक्ता बस्नेतले दायर गरेको सो रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै सो जग्गामा एमाले केन्द्रीय कार्यालयको भवन निर्माण तत्काल अघि नबढाउन भनिसकेको छ ।