मानव तस्करीको आरोपमा पक्राउ परेका निवर्तमान मन्त्री अधिकारी सांसद पदबाट निलम्बित


काठमाडौं– मानव तस्करीको आरोपमा पक्राउ परेका नेकपा (एमाले) का नेता एवं कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारी सांसद पदबाट निलम्बित भएका छन् । एमाले संसदीय दलले लिखित जानकारी दिएसँगै कोशी प्रदेश सभाले सूचना टाँस गरेर उनलाई निलम्बन गरिएको जानकारी गराएको हो ।

एमाले नेता अधिकारीलाई प्रहरीले आइतबार पक्राउ गरेर काठमाडौं ल्याइसकेको छ । निवर्तमान मन्त्री अधिकारीले मन्त्रालयसँग असम्बन्धित मान्छेहरुलाई नक्कली कर्मचारी बनाएर जापान पुर्याएको आरोप छ । मन्त्री अधिकारीसहित तीन जना युवालाई जापानको अध्यागमन विभागले डिपोर्ट गरेको थियो ।

निवर्तमान मन्त्री अधिकारीसँग जापान गएका ३ जना युवासहित ६ जनालाई प्रहरीले यसअघि नै नियन्त्रणमा लिएको थियो । प्रहरीसँगको बयानमा उनीहरुले आफूहरुले १० लाखदेखि १३ लाख रुपैयाँसम्म तिरेर तत्कालीन मन्त्री अधिकारीसँग जापान गएको बताएको प्रहरी अधिकारीहरुको भनाइ छ ।

निवर्तमान मन्त्री अधिकारीलाई अनुसन्धानको दायरा बाहिर राखेको भनी चौतर्फी आलोचना सुरुभएसँगै उनलाई प्रहरीले हिजो नियन्त्रणमा लिएर जहाजमार्फत काठमाडौं ल्याएको थियो । अहिले उनी प्रहरी हिरासतमा छन् । उनलाई २ दिन हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउन काठमाडौं जिल्ला अदालतले अनुमतिसमेत दिइसकेको छ ।