जाजरकोटमा गाडी दुर्घटना हुँदा २८ जना घाइते, ४ जना गम्भीर


जाजरकोट– जाजरकोटको भेरी नगरपालिका– १३ कुदु जिरो प्वाइन्टनजिक फोर्सगाडी दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । भेरी–७ स्याउली बजारबाट नेपालगन्जका लागि छुटेको फोर्स गाडी मध्यपहाडी लोकमार्गअन्तर्गत जिरो प्वाइन्टनजिक दुर्घटनामा परेको हो ।

स्याउली बजारबाट यात्रु लिएर नेपालगन्जतर्फ जाँदै गरेको बा ५ ख १८९२ नम्बरको फोर्स गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सूचना अधिकारी दिनेश तिमिल्सेनाका अनुसार जगतीपुर प्रहरीले चेकजाँच गर्ने क्रममा १० जना महिला ७ जना पुरुष र ५ जना बालबालिका सहित २१ जनाको नाम ईन्ट्री गराइएको थियो ।

बिचबाटोमा केही यात्रु थपिएको प्रहरीको अनुमान छ । गाडीमा सवारमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । बाँकीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

घाइतेको स्वास्थ्य चौकी कुदुमा प्राथमिक उपचारपछि थप उपचारका लागि जाजरकोट अस्पतालमा ल्याइएको छ । मोडमा गाडी अनियन्त्रित भई सडकदेखि करिब ६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।