काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतीसहित शीर्ष नेताहरुले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । रास्वपाका उपसभापतिद्वय स्वर्णिम वाग्ले, डीपी अर्यालसहित प्रवक्ता मनिष झाले लामिछानेलाई हिरासतमा पुगेर भेटेका हुन् ।
छलफलमा पुगेका रास्वपा उपसभापति स्वर्णीम वाग्लले रविलाई भेटेर फर्किएपछि सरकारले प्रतिशोध साध्न नै सभापति लामिछानेलाई अनावश्यक हिरासतमा राखेको बताए । े आफूहरुले न्यायिक अनुसन्धानको विरोध नगरेको समेत दावी उनले गरे ।
उपसभामुख वाग्लेले भने, ‘हाम्रो विधिको शासनमा आस्था पनि छ । अति नै भयो । रविजी र रास्वपाप्रति सहानुभूति बढेको छ । अहिले सरकारले राजनीतिक प्रतिशोध राखेको हो । हाम्रो आन्दोलन जारी नै छ ।’ रास्वपाको आन्दोलनलाई ठोस योजना बनाएर अन्य उस्तै एजेन्डा भएकाहरुसँग मिलेर आन्दोलनलाई थप व्यापक बनाउने उनले बताए ।
यस्तै रास्वपाका अर्का उपसभापति डिपी अर्यालले रास्वपाले गर्नलागेको दोस्रो चरणको आन्दोलनलाई व्यवस्थित मोडालिटी बनाएर जाने योजना रहेको बताए । उनले आइतबार पोखरास्थित रास्वपाको आन्दोलनलाई सम्बोधन गर्दै रवि जहाँ रहेपनि जिवित रहेसम्म रास्वपाको नेतृत्व गर्ने बताएका थियो । उनले सोही कुरालाई दोहोर्याउँदै रवि हिरासतमा भए पनि रास्वपाको सभापति नै रहने कुरालाई स्पष्ट पारे ।
रविले भेटघाटको क्रममा आफूमाथी राजनीतिक प्रतिशोध साँधिएको कुरा नागरिकलाई बुझाउन अनुरोध गरेको उनले बताए । रास्वपा सभापति लामिछानेले भेटघाटमा भनेको कुरा उद्धृत गर्दै उनले भने, ‘अहिले अनुसन्धान प्रक्रिया चलिरहेको छ । हामीले बाहिर बसेर गर्न सकिने विषय हुँदाहुँदै पनि मलाई यति गर्नु भनेको चाहिँ राजनीतिक प्रतिशोध हो । यो राजनीतिक प्रतिशोध हो भन्ने कुरा नागरिकलाई बुझाउन भ्याउनुभएको छ कि छैन, बुझाउनुस् । त्यसमा केन्द्रीय समिति र हाम्रा नेताहरु चुक्नुहुँदैन ।’
यस्तै रास्पपाका प्रवक्ता मनिष झाले लामिछानेसँग भेटघटमा भएको छलफलका विषयमा बुधबार पत्रकार सम्मेलन नै गरेर जानकारी दिने बताएका छन् । उनले भने, ‘अहिलेसम्म राज्यसत्ताले गरेको प्रतिशोध र आगामी कदमबारे जानकारी गराउँछौं । पर्सि अपरान्ह केन्द्रीय कार्यलयमा पत्रकार सम्मेलन हुन्छ ।’
सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको केन्द्रीय पार्टी कार्यालयबाट पक्राउ परेका रास्वपा रवि लामिछानेलाई सोहि दिन कास्की पुर्याइएको थियो । पहिलोपटक कात्तिक ४ गते जिल्ला अदालत कास्कीले ५ दिन, दोस्रोपटक ७ दिन, तेस्रो पटक १० दिन हुँदै आइतबार थप १३ दिनको म्याद थप गरेको छ । अदालतबाट अनुमति लिएर कास्की प्रहरीले पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धान गरिरहेको छ ।
यसै क्रममा पोखरामा अनुसन्धान नसकिँदै उनलाई रुपन्देहीको सुप्रिम सहकारीमा भएको अपचलनको अनुसन्धान गर्न प्रहरीले उनलाई रुपन्देही लग्ने तयारी गरेको छ । टवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ रवि तत्कालिन प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको आरोप छ । सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रुपैयाँ रवि लामिछानेको नाममा गएको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ। रुपन्देहीमा रविविरुद्ध अनुसन्धान सकिएपछि उनलाई थप अनुसन्धानका लागि पुन कास्की पुर्याउने योजना प्रहरीले बनाएको छ ।
उता रविमाथी हिरासतमा राख्न अदालतले म्याद थप गरिरहँदा रास्वपाले सभापति लामिछानेको पक्राउविरुद्धको आन्दोलनलाई थप व्यापक बनाउने तयारी गरेको छ । रास्वपाले पोखरा र काठमाडौंमा सभापति पक्राउ भएदेखि नै आन्दोलन गर्दै आएको छ । यस आन्दोलनलाई थप शसक्त बनाउँदै दोस्रो चरणको आन्दोलन गर्न शनिवार रास्वपाको केन्द्रीय समितिको बैठक बसेर नै निर्णय भएको छ । मुलुकमा व्याप्त सङ्गठित भ्रष्टाचार र कुशासनविरुद्ध, सहकारी पीडित, लघुवित्त एवं मिटर ब्याज पीडितका समस्या समाधान, प्रवासमा रहेका नेपाली युवाहरूको मुलुक निर्माणमा सहभागिता र प्रवासका समस्या समाधानका लागि दोस्रो चरणको सशक्त आन्दोलन गर्ने रास्वपाले जनाएको छ ।
प्रतिक्रिया