विमानस्थलमा ६ घण्टा कुराएपछि रविलाई रुपन्देही लगियो


पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्ववा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई बुद्ध एयरको जहाजबाट भैरहवा लगिएको छ ।

कात्तिक २ गते सहकारी ठगी प्रकरणमा काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोहि दिन पोखरा लगिएको थियो । उनलाई आज २५ दिनपछि थप पोखराबाट बयानका लागि भैरहवा लगिएको हो ।

लामिछानेलाई भैरहवा लैजान बिहानै साढे ५ बजे नै पोखरा विमानस्थल पुर्‍याइएको थियो । बिहान पौने ८ को उडान भएपनि मौसमको खराबीका कारण भैरहवामा भिजिविलिटी नभएकोले उनलाई तोकिएको समयमा लग्न सकिएन । भैरहवामा मौसम सुधार भएसँगै उनलाई पोखराबाट भैरहवा लगिएको हो । उनी अबको केही समयमा नै भैरहवामा ल्यान्ड हुने विमानस्थल स्रोतले बताएको छ ।

यता रविलाई आज रुपन्देही लग्न लागिएको समाचारहरु बाहिरिएसँगै रास्वपाका कार्यकर्ता र सहकारी पीडित भैरहवा पुगिसकेका छन् । रास्वपा लुम्बिनी प्रदेशले भैरहवाको बुद्धचोक, लुम्बिनी गेटमा प्रदर्शन थालिसकेका छन् भने एयरपोर्टमै पुगेर पनि समर्थकहरूले प्रदर्शन गरिरहेका छन् ।

उता सुप्रिम ऋण तथा बचत सहकारी पीडितहरुले पनि भैरहवामै प्रदर्शन गर्ने तयारी गरेका छन् । रास्वपाका कार्यकर्ता र सहकारी पीडित नै एकैपटक प्रदर्शन गर्न लागेपछि त्यहाँको सुरक्षा व्यवस्थामा कडाई समेत गरिएको छ ।

यस्तै जहाजस्थलबाट सिधै सरकारी वकिल कार्यालयमा लगेर रविको बयान सुरु गर्ने रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठौरले बताएका छन् ।