काठमाडौं– हलहरुमा राम्रो कलेक्सन गरिरहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले विभिन्न नेपाली फिल्मका नाममा रहेका रेकर्डहरु एक पछि अर्को गर्दै तोडिरहेको छ । तिहारको लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आएको यस फिल्मले नयाँ नयाँ रेकर्ड बनाएको छ ।
यो फिल्म हालसम्म सबैभन्दा कम समयमा धेरै कमाउने नेपाली फिल्म बनेको छ । ११ दिनमा २० करोड ७३ लाख ग्रसकलेक्सन गर्दैै फिल्म थोरै समयमा धेरै कमाउने नेपाली फिल्म बनेको हो ।
यस्तै एक दिनमा सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको रेकर्ड पनि यहि फिल्मले राखेको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ले शनिबारमात्र तीन करोड ८९ लाख ग्रसकलेक्सन गरेको थियो । फिल्मको गत शनिबारको व्यापार एकदिनमा नेपाली फिल्मले गरेको सबैभन्दा ठूलो व्यापार गरेको थियो । शुक्रबार यो चलचित्रले २ करोड ९९ लाख ग्रसकलेक्सन गरेको थियो ।
शुक्रबारको व्यापारले ‘कबड्डी ४’ले एक दिनमा गरेको २ करोड ९० लाखको ग्रसकलेक्सनको रेकर्डलाई तोडेको थियो । यस्तै नेपाली हलहरुमा धेरै शो पाउने चलचित्रको रेकर्ड पनि ‘पूर्ण बहादुरको सारङ्गी’को नाममा आएको छ । एकै दिन ९८ हलमा ४६५ शो पाउँदै सबैभन्दा धेरै शो पाउने फिल्मको रेकर्ड बनाएको हो ।
यसअघि दशैंको घटस्थापनामा रिलिज भएको फिल्म ‘बेहुली फ्रम मेघौली’ले ३४० शो पाएर सबैभन्दा धेरै शो पाउने चलचित्रको रेकर्ड बनाएको थियो । ‘बेहुली फ्रम मेघौली’को नाममा रहेको यो रेकर्डलाई छोटो समयमा नै तोड्दै ‘पूर्ण बहादुरको सारङ्गी’ले आफ्नो नाममा गरेको छ ।
सरोज पौडेलको कथा तथा निर्देशन गरेको फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ ।
चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल फिल्मका कार्यकारी निर्माता हुन् ।
प्रतिक्रिया